Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध अछाम उद्योग वाणिज्य संघ : यस्ता छन् विरोधका कार्यक्रम


बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका विरुद्ध मङ्गलवार अछामका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका विरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्दै आएको उद्योग वाणिज्य संघ अछामले मङ्गलवार पनि विरोध प्रदर्शन गरेको छ ।

जिल्ला सदरमुकाम मंगलसैन र साँफेबगरमा कालो ब्यानर सहित उद्योगी व्यापारीहरूले प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका विरुद्ध अछाम उद्योग वाणिज्य संघ विभिन्न सङ्घर्षका कार्यक्रमहरू गर्दै आइरहेको छ ।

आइतबार पत्रकार सम्मेलन आयोजना गरी चर्को ब्याजदरले व्यवसायी, व्यापारी, किसान लगायत आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू मारमा परेको भन्दै ब्याजदर घटाउन बाध्य गराउने उद्देश्यका साथ विरोध कार्यक्रम गर्न लागिएको सङ्घले जानकारी गराएको थियो ।

अछाम उद्योग वाणिज्य सङ्घको अगुवाइमा बैंक ब्याजदर विरुद्ध कार्यपालिका नै निर्माण गरेर चरणबद्ध रूपमा विरोध गर्ने निर्णय गरिएको छ ।

अछाम जिल्लामा उद्योगी व्यवसायीले यही फागुन १५ गते देखि हरेक दिन बिहान ११ बजेसम्मका लागि बजार बन्द गर्ने, विरोध र्‍याली प्रदर्शन गर्ने, सरकारी,निजी बैङ्क तथा वित्तीय संस्थाहरूमा विरोध प्रदर्शन देखी कोण सभा गर्ने यही फागुन १८ १८ गते कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात् निक्षेप जम्मा नगर्ने लगायतका कार्यक्रम रहेका छन् ।

त्यस्तै २० गते सुदूरपश्चिमका सबै उद्योग वाणिज्य सङ्घहरूले सङ्घर्ष समिति गठन गर्ने र यसको जानकारी प्रदेश महासङ्घलाई गराउने निर्णय समेत भएको छ । साथै फागुनभित्र माग पुरा नभए थप छलफल गरेर सशक्त आन्दोलन गर्ने समेत उद्योग वाणिज्य संघ अछामले जनाएको छ ।


क्याटेगोरी : अर्थ-वाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode