Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

दाइको बिदाइमा फर्कंदै गरेका बझाङका निखिलको बाटोमै मृत्यु


धनगढी : बझाङको छबिसपाथीभेरा गाउँपालिका–२ का १७ वर्षीय निखिल रोकाया दिल्लीमा काम गर्थे। आमा पुतली रोकाया र भाउजू अञ्जली पनि साथमै थिए।

निखिलका दाजु अनिल रोकाया जापान जान लागेका थिए र उनीसँग भेटघाट गर्न निखिल परिवारसहित नेपाल फर्किंदै थिए।

तर दुर्भाग्य, घर पुग्नुअघि नै उनी कहिल्यै नफर्किने गरी विदा भए। शनिबार बिहान भारतको उत्तरप्रदेशस्थित पिलिभितमा भएको सडक दुर्घटनामा निखिलको मृत्यु भयो।

दिल्लीबाट नेपाल फर्किंदै गरेको कारलाई मर्मत गर्ने क्रममा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो।

कारको पछाडिको टायर पञ्चर भएपछि बिसलपुर–बरेली हाइवे किनारमा गाडी रोकिएको थियो।

गाडीको मर्मत हुँदै गर्दा पछाडिबाट आएको ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार दुई जनाको ज्यान गयो।

दुर्घटनामा गम्भीर घाइते भएकी निखिलकी भाउजू अञ्जलीलाई थप उपचारका लागि दिल्ली लगिएको छ।

आमाको अवस्था भने सामान्य छ। संगै सवार अर्का नेपालीको पनि मृत्यु दुर्घटनामा कार चालक बझाङकै २५ वर्षीय गणेश कुमार सुनारको पनि ज्यान गएको छ।

कारमा चालकसहित ८ जना यात्रु सवार थिए। उनीहरू सबै दिल्लीबाट नेपाल फर्किंदै थिए।

निखिलका दाजु अनिल रोकाया जापान जानको लागि काठमाडौँमा थिए। सोमबारको टिकट थियो।

दाइलाई बिदाइ गर्न घर आउँदै गर्दा भाइ निखिलले बाटोमै ज्यान गुमाए।

‘शव ल्याउँदैछौँ। आजै महाकाली नदीमा अन्त्येष्टि गर्छौँ,’ निखिलका ठूलो बुवा दर्शन रोकायाले भने, ‘दाइसँग भेटघाटका लागि आउँदै थिए। बाटोमै यो भयावह घटना भयो।’

दुर्घटनापछि ट्रकसहित चालक फरार भएका छन्। भारतीय प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode