गाउँपालिका सरकारले सुशासन र पारदर्शिताको खिल्ली उडाएको एमाले बान्नीगढीको आरोप

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाले अन्तिम समयमा सार्वजनिक सुनुवाइ कार्यक्रम स्थगित गरेकोप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) बान्नीगढी जयगढ गाउँपालिका कमिटीले कडा आपत्ति जनाएको छ । बुधबार एमाले गाउँपालिका कमिटीका अध्यक्ष हर्कबहादुर साउँदले प्रेस वक्तव्य जारी गर्दै गाउँपालिकाको कदमलाई “पूर्ण रूपमा जनविरोधी, गैरजिम्मेवार र आपराधिक कार्य” भएको टिप्पणी गरेका छन् ।
वक्तव्यमा भनिएको छ “बिगत दुई वर्षदेखि जनताको प्रश्न, जिज्ञासा र आलोचनाबाट निरन्तर भाग्दै आएको गाउँपालिकाको सरकारले पुनः एकपटक जनताको अपेक्षाविपरीत निर्णय गरेर सुशासन र पारदर्शिताको खिल्ली उडाएको छ ।”
एमालेले सार्वजनिक सुनुवाइ स्थगित गर्नु सुशासन र जनजवाफदेहिताको मूल्यमान्यतालाई तिलाञ्जली दिएको ठहर गर्दै तत्काल कार्यक्रम सञ्चालन गर्न माग गरेको छ । पार्टीले यस्तो कार्यले गाउँपालिकाको नेतृत्वलाई जनताको जवाफदेही सरकारका रूपमा होइन, स्वेच्छाचारी प्रवृत्तिको उदाहरणका रूपमा स्थापित गरेको बताएको छ ।
एमालेले गाउँपालिकाको जिम्मेवार जनप्रतिनिधिहरूलाई जनताको मनोभावना, कानूनी व्यवस्था र लोकतान्त्रिक मर्यादाको सम्मान गर्दै तत्काल स्थगित सार्वजनिक सुनुवाइ कार्यक्रम अनिवार्य रूपमा सम्पन्न गर्न आग्रह गरेको छ ।
प्रेस वक्तव्यमा एमालेले ध्यानाकर्षण पत्रमार्फत जनताले उठाएका विषयहरू जायज भएको बताउँदै, त्यसबाट उत्पन्न हुने राजनीतिक, सामाजिक र जनआन्दोलनका परिणामहरूको पूर्ण जिम्मेवारी गाउँपालिकाकै हुने चेतावनी दिएको छ ।
अध्यक्ष साउँदले पार्टी सधैं सुशासन, पारदर्शिता र जनजवाफदेहिताको पक्षमा अडिग रहेको भन्दै जनताको अधिकार सुरक्षित गर्न निरन्तर संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया