सार्वजनिक सुनुवाइ स्थगित भएपछि जागे बान्नीगढीका युवा, पालिकामा बुझाए ध्यानाकर्षण पत्र

अछाम । बान्नीगढी जयगढ गाउँपालिकामा तय भइसकेको सार्वजनिक सुनुवाइ कार्यक्रम अन्तिम समयमा स्थगित गरिएपछि स्थानीय युवाहरूले तीव्र विरोध जनाउँदै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सुशासन र पारदर्शिताको मुख्य आधार मानिने सार्वजनिक सुनुवाइ कार्यक्रम लगातार तेस्रो वर्ष नहुने स्थिति आएको र यस वर्ष समेत अन्तिम समयमा स्थगित गरिनु जनताको प्रश्न र जिज्ञासाबाट भाग्ने प्रवृत्ति भएको युवाहरूको आरोप छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ “गाउँपालिकाले मिति तोकी पत्राचार गरेर तयारी पुरा गरे पनि अन्तिम समयमा बिना कारण सार्वजनिक सुनुवाइ रोक्नु गैरजिम्मेवारी र जनप्रतिनिधिहरूको जवाफदेहीतामा प्रश्न उठाउने कार्य हो ।”
युवाहरूले गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहीतामाथि गम्भीर प्रश्न उठाउँदै तत्काल नयाँ मिति तोकी सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।
ध्यानाकर्षण पत्रमा गाउँपालिकाका विभिन्न वडाका युवाहरूको हस्ताक्षर रहेका छन् । उनीहरूले सार्वजनिक निकायको जवाफदेहीता र पारदर्शिता जनतासामु प्रमाणित गर्न माग गर्दै गाउँपालिकालाई सुशासनको मापदण्डअनुसार कार्य गर्न आग्रह गरेका छन् ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया