जयगढ आगलागी
प्रदेश सरकारको ५० लाख रकम पालिकामा जम्मा : चाँडै वितरण हुने

अछाम । गएको चैत्र २६ गते राति जयगढ बजारमा भएको भीषण आगलागीका पीडितहरूका लागि सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको राहत रकम गाउँपालिकाको खातामा प्राप्त भएको छ।
प्रदेश सरकारले आगलागी पीडितहरूको राहत र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। हाल उक्त रकम गाउँपालिकाको खातामा भुक्तानी भइसकेको अध्यक्ष साउँदले बताए।
राहत वितरण प्रक्रिया बारे जानकारी दिँदै गाउँपालिका अध्यक्ष साउँदले भने, “प्रदेश सरकारको सहयोगसहित विभिन्न संघ–संस्था, निकाय तथा व्यक्तिहरूबाट प्राप्त रकम समेत समेटेर चाँडै पीडितहरूलाई वितरण गरिनेछ।”
उनका अनुसार रकम वितरणका लागि सरोकारवाला निकाय, पालिकाका समिति र कार्यपालिकाबीच छलफल तथा निर्णयको प्रक्रिया अगाडि बढाइएको छ।
पीडितहरूको आवश्यकता र अवस्थालाई मूल्यांकन गरी समतामूलक ढंगले राहत वितरण गरिने गाउँपालिका अध्यक्ष साउँदले बताएका छन् ।
यद्यपि, स्थानीय तहका कर्मचारी आन्दोलमा रहेका कारण राहत वितरणमा केही ढिलाइ भएको उनले स्पष्ट पारे। एक हप्ताभित्रमा राहत वितरण कार्य सम्पन्न गर्ने उनको तयारी छ ।
गएको चैत्र २६ गते जयगढ बजारको एक पसलबाट सुरु भएको आगलागीले २७ घर तथा ती घरमा सञ्चालित पसलहरू पूर्ण रूपमा जलेर नष्ट भएका थिए।
प्रारम्भिक अनुमान अनुसार आगलागीबाट ८ करोडभन्दा बढीको भौतिक बाहेकको क्षति पुगेको जनाइएको छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया