“बजेट चोर मन्त्रीको सामुन्ने बस्दिन, कार्यक्रममै बहिष्कार गरें” – अक्कल रावल

अछाम : आर्थिक अनुशासन तोड्ने र बजेटको दुरुपयोगमा संलग्न मन्त्रीहरूलाई बहिष्कार गर्नुपर्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री तथा हाल प्रदेशसभा सदस्य अक्कल रावलले वनमन्त्री रामेश्वर चौधरी सहभागी भएको कार्यक्रम बहिष्कार गरेका छन्।
संयुक्त राष्ट्रसंघीय महिला महासन्धि समिति (UN CEDAW Committee) ले नेपालका लागि जारी गरेको निष्कर्ष टिप्पणी (Concluding Observation) सम्बन्धमा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्न मंगलबार धनगढीस्थित होटल डेवोटीमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा वनमन्त्री चौधरीको उपस्थिति भएपछि सांसद रावल तत्कालै कार्यक्रम बहिष्कार गर्दै बाहिरिएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोख्दै रावलले लेखेका छन्, “जो जो मन्त्री, जसले बजेट बनाउँदा आर्थिक अनुशासन कायम गरेका छैनन् र बजेटको व्यापक दुरुपयोग गरेका छन्, ती मन्त्रीहरू मन्त्री बन्न र भनिन योग्य छैनन्। संसदमा छानबिनको माग हुँदाहुँदै पनि छानबिन नगरी तिनै अनुहारहरूलाई कार्यक्रममा बोलाइनु लाजमर्दो हो।”
“अनुहार हेर्दा पनि लाज लाग्छ” भन्दै रावलले कार्यक्रम बहिष्कार सहित चेतावनीको दिएका छन्। पश्चिम रैवारसँग कुराकानी गर्दै उनले थपे, “९० प्रतिशत योजना कमिसनमा बेचेकालाई कसरी मन्त्री भन्न सकिन्छ? आयोजकहरूले अनुहार हेर्न लायक नभएका मन्त्रीलाई मञ्चमा राखे, त्यसैले आयोजक र मन्त्रीकै अघि यस्ता मन्त्रीलाइ मन्त्री भन्न लाज लाग्छ भनेरै म कार्यक्रम छोडेर हिँडेको हुँ।”
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा आवश्यकताका आधारमा होइन, कमिसनका आधारमा योजना किनबेच भएको भन्दै प्रदेशसभा सदस्यहरूले लगातार आपत्ति जनाइरहेका छन्।
यसअघि नै मुख्यमन्त्री कमल बहादुर शाहले बजेट प्रक्रिया र योजनाको वितरणमा देखिएको विकृति र आलोचनाबीच वनमन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन भनेका थिए। तर चौधरीले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिँदै पद नछोड्ने अडान लिएका छन्।
रावलको यस्तो खुला बहिष्कार र कडा टिप्पणीले सुदूरपश्चिम प्रदेशको राजनीतिक माहोल झनै तातेको देखिन्छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया