रामारोशन शैक्षिक रुपान्तरण अभियान
एसईई विद्यार्थीका लागि रामारोशनको प्रोत्साहन प्याकेज : सम्मान, नगद र तयारी सहयोग ( निर्णय सहित )

अछाम : गुणस्तरीय शिक्षाको सुनिश्चितता र विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धिका लागि रामारोशन गाउँपालिकाले शैक्षिक रुपान्तरण अभियानमा विशेष जोड दिदै आएको छ। सोही अभियान अन्तर्गत यस वर्षको एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान, नगद पुरस्कार र अभिमुखिकरण कार्यक्रममार्फत प्रोत्साहित गरिने भएको छ ।
यसै सन्दर्भमा, यही असार २१ गते ग्रेडेड विद्यार्थीहरूलाई विशेष कार्यक्रममार्फत सम्मान तथा भविष्य निर्माणसम्बन्धी अभिमुखिकरण प्रदान गरिनेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले “गाउँपालिकाले शिक्षा क्षेत्रमा रुपान्तरण ल्याउने प्रतिबद्धतासहित काम गरिरहेको बताएका छन्। यो अभियानले पालिकाको शिक्षा क्षेत्रलाई गतिशील बनाउने अधिकृत भण्डारीको विश्वास छ ।
गाउँपालिकाको निर्णय अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ६ देखि १० सम्म अध्ययन गरेर एसईईमा A+ ग्रेड ल्याउनेलाई २० हजार र A ग्रेड ल्याउनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ।
त्यस्तै, एसईईमा ननग्रेडेड विद्यार्थीहरूको लागि मौका परीक्षा तयारी गर्न पालिकाभित्रका विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराइनेछ।
गाउँपालिका अध्यक्ष मान बहादुर साउँदले गुणस्तरीय शिक्षा सबैको हक भएको बताउदै यो विशेष अभियान तिव्र पारिएको बताएका छन् ।
शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा अघि बढाइएको यो कार्यक्रम रामारोशन गाउँपालिकाको शिक्षा सुधार योजनाको एउटा बलियो पाटो बन्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले शैक्षिक अनुशासन, शिक्षकको उत्तरदायित्व र विद्यार्थीको प्रेरणामा केन्द्रित नीति कार्यान्वयन गर्दै आएको छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, पालिका, शिक्षा, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया