बान्नीगढीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा : ढिलोमा असोजभित्रै हस्तान्तरण हुने

अछाम : बान्नीगढी जयगढ गाउँपालिकाको बहुप्रतिक्षित प्रशासनिक भवनको निर्माण कार्य तीव्र गतिमा सम्पन्न हुँदैछ। निर्माणको ८० प्रतिशतभन्दा बढी कार्य सकिएको छ भने निर्माण कम्पनीले आगामी असोज मसान्तभित्र भवन हस्तान्तरण गर्ने दाबी गरेको छ।
५ करोड ५९ लाख ९० हजार रुपैयाँको लागतमा निर्माणाधीन भवनको जिम्मा पाएको नारायण–उपहार जेभी निर्माण कम्पनी र गाउँपालिकाबीच २०८० चैत ३० गते सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण सम्पन्न गर्ने म्याद २०८३ वैशाख १ गतेसम्म छ । उक्त समय अगावै हस्तान्तरण गर्ने निर्माण कम्पनिको तयारी छ
निर्माण कम्पनीका प्रतिनिधि रवि स्वारका अनुसार यसै असार मसान्तभित्र भवन हस्तान्तरण गर्ने योजना भए पनि प्राविधिक कारणले केही ढिलाइ भएको छ।
“र्यालिङ, मार्बल,रंगरोगन लगायतका काम अन्तिम चरणमा छन् काम स्वारले भने ढिलोमा यहि बर्षको असोज मसान्तभित्र पालिकालाई भवन बुझाइ सक्नेछौ ।”
गाउँपालिकाका सिभिल सब–इञ्जिनियर लोकेन्द्र ठकुल्लाका अनुसार हालसम्म भवनको करिव ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ । प्रशासनिक भवनको विभिन्न कार्यका लागि ८ प्रतिशत भ्यालुएसन अर्डर (भी.ओ.) स्वीकृत गरिएको छ। उनका अनुसार भवन निर्माण कार्य गुणस्तरीय र निर्धारित मापदण्डअनुसार भइरहेको छ।
गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले भवन निर्माण अन्तिम चरणमा पुगेकोप्रति खुसी व्यक्त गरे। “हामीले हरेक वर्ष कार्यालय भाडा र शाखा सञ्चालनका लागि झण्डै आधा करोड रुपैयाँ खर्च गर्दै आएका थियौं,” उनले भने, “अब आफ्नै भवनबाट सेवा सञ्चालन हुने भएपछि त्यो रकम अन्य विकास निर्माणमा उपयोग गर्न सकिनेछ।”
गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले नयाँ भवनबाट सेवा सुरु हुँदा सेवाग्राहीमैत्री, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा सुधार आउने विश्वास व्यक्त गरिन्। “साथै, न्याय सम्पादनदेखि दैनिक प्रशासनिक कामकाजसमेत व्यवस्थित हुने अपेक्षा गरेका छौं,” उनले भनिन्।
नयाँ भवनको प्रयोग सुरु भएपछि बान्नीगढी जयगढ गाउँपालिकाले आफ्नो सेवा प्रवाह प्रणालीलाई अझ सक्षम, प्रभावकारी र सुदृढ बनाउने विश्वास गरिएको छ।
यो पनि : –

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया