बान्नीगढीमा ३७ करोडको बजेट सार्वजनिक : रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा विशेष जोड

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३७ करोड १ लाख २ हजार ३१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १४ औँ अधिवेशनमार्फत नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो।
अध्यक्ष टेक बहादुर साउँदले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्धि, स्वरोजगार र सेवा प्रवाहमा प्रभावकारी परिवर्तन ल्याउने प्रतिबद्धता जनाए। उपाध्यक्ष बिन्दु रावलले बजेट विवरण प्रस्तुत गरेकी हुन्।
गाउँपालिकाले “विदेश होइन, स्वदेशमै रोजगारी : आत्मनिर्भर बनाऔँ बान्नीगढी” भन्ने मूल नारा अघि सारेको छ। यसअन्तर्गत व्यावसायिक कृषि, पशुपालन र स्थानीय स्रोत केन्द्रित उद्यमशीलता प्रवर्द्धन गर्दै स्वरोजगारका अवसर सिर्जना गरिने जनाइएको छ।
शिक्षा क्षेत्रमा “गुणस्तरीय शिक्षा, समृद्ध बान्नीगढीको आधार” भन्ने दृष्टिकोण लिईइएको छ भने स्वास्थ्य क्षेत्रमा “सबैको पहुँचमा गुणस्तरीय सेवा” भन्ने लक्ष्यसहित सामाजिक विकासमा विशेष जोड दिईने बताइएको छ।
प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफ्नै नव निर्मित प्रशासनिक भवन मार्फत जनमैत्री, पारदर्शी र सहज सेवा उपलब्ध गराइने योजना बजेटमा समेटिएको छ। आन्तरिक तथा प्रशासनिक खर्चमा कटौती गर्दै सेवा केन्द्रित प्रणालीको विकास गरिनेछ।
गाउँपालिकाले संगठन संरचना पुनरावलोकन गर्दै आवश्यक जनशक्ति व्यवस्थापनका लागि कार्य विवरण र कार्य विश्लेषणमा आधारित संरचनागत सुधार समेत नीति दस्तावेजमा समावेश गरेको छ।
स्थानीय पर्यटन, कृषि, पशुपालन र लघु उद्यमहरूलाई प्राथमिकतामा राख्दै आर्थिक वृद्धि र रोजगारीसँगै बान्नीगढीलाई आत्मनिर्भर बनाउने दीर्घकालीन खाका गाउँपालिकाले अघि सारेको छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया