चौरपाटीले असार ९ मा बजेट ल्याउने : दमकल खरिद र टिमुर खेतीमा विशेष जोड (भिडिओ सहित)

अछाम । चौरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित वार्षिक बजेट यही असार ९ गते गाउँसभामा पेश गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासलाई ध्यानमा राख्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तयार पारिएको जानकारी दिएका छन्।
अध्यक्ष साउदका अनुसार चौरपाटी गाउँपालिकामा कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै रोजगारी सिर्जनाका अवसरहरू विस्तार गर्न नयाँ योजना ल्याउने तयारी गरिएको छ। विशेषगरी टिमुर खेतीलाई व्यावसायिक रूपमा विकास गर्न सम्भाव्यता अध्ययनसहित आवश्यक लगानीका लागि बजेट विनियोजन गरिने उनले बताए।
अध्यक्ष साउदले चौरपाटीमा कृषि, विशेषगरी जडीबुटीमा टिमुर खेतीको ठूलो सम्भावना रहेको बताउदै यसलाई व्यवसायीकरण गरेर गाउँमै रोजगारी सिर्जना गर्न रणनितिक रुपमा अघि बढ्ने उल्लेख गरेका छन् ।
चालु आर्थिक वर्षको हालसम्मको प्रगति उल्लेखनीय रहेको उनको भनाइ छ । उनका अनुसार हालसम्म करिव ७० प्रतिशतभन्दा बढी पुँजीगत बजेट खर्च भइसकेको छ भने असार मसान्तसम्ममा ८५–९० प्रतिशत पुँजीगत बजेट खर्च हुने लक्ष्य लिइएको छ।
योजनाहरू समयमै सम्पन्न गर्न असार १५ गतेसम्मको म्याद तोकी सम्पूर्ण वडा र सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ। सो म्यादभित्र कागजात पेश नभएमा भुक्तानी दिन बाध्य नहुने निर्णयसमेत गरिएको उनले प्रष्ट पारे।
आगलागी नियन्त्रणका लागि बारुण यन्त्र खरिद हुँदै
गाउँपालिकाको आगामी बजेटमा बारुण यन्त्र (दमकल) खरिदका लागि समेत रकम विनियोजन गरिने भएको छ। अध्यक्ष साउदका अनुसार अछाम क्षेत्र नं. १ मा बारुण यन्त्र नहुँदा विगतमा आगलागीबाट ठूलो जनधनको क्षति भोग्नु परेको छ। सोही अनुभवलाई मध्यनजर गर्दै अबका दिनमा समयमै आगो नियन्त्रण गर्न अन्य पालिकाहरूको सहकार्यमा बारुण यन्त्र खरिद गरिने योजना बनाइएको छ।
गाउँपालिका अध्यक्षको रूपमा तीन वर्षे कार्यकाल पूरा गर्दै गर्दा उनले स्वास्थ्य, शिक्षा, विद्युत्, सडक पूर्वाधारलगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन् ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया