Hikmat Acharya
  • १९ जेठ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

रामारोशनमा सांस्कृतिक महोत्सव : दर्शकको उत्साह चुलिदै


अछाम । अछामको रामारोशन गाउँपालिका मुजाबगरमा जारी सांस्कृतिक महोत्सवमा १० हजारभन्दा बढी दर्शक तथा अतिथिहरूले सहभागिता जनाएका छन्। वैशाख २५ गतेदेखि सुरु भएको महोत्सव जेठ ६ गतेसम्म सञ्चालन हुनेछ।

बाह्रबण्ड र अठारखण्डले सजिएको रामारोशनको मुजाबगर यतिबेला लोककला, संस्कृति, कृषि र पर्यटनको संगम स्थल बनेको छ।

रामारोशनमा जारी सांस्कृतिक महोत्सव दर्शक र पर्यटकको उल्लेखनीय आकर्षणको केन्द्र बनेको छ।

‘बाह्रबण्ड–अठारखण्ड’का रूपमा परिचित रामारोशन क्षेत्रको पर्यटन प्रवर्द्धन र स्थानीय कला-संस्कृतिको जगेर्नाका लागि आयोजना गरिएको महोत्सवलाई दर्शकहरूले उत्साहपूर्वक साथ दिएका छन्। महोत्सव आयोजक समिति अध्यक्ष जनक साउँदका अनुसार हालसम्मको सहभागिता उत्साहजनक रहेको छ।

महोत्सवमा स्थानीय सांस्कृतिक प्रस्तुति, कृषि प्रदर्शनी, फोटो प्रदर्शनी र पर्यटकीय क्षेत्रको प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। साथै, महोत्सवले स्थानीय उत्पादनको बजार प्रवर्द्धन र युवामा पर्यटनप्रति आकर्षण जगाउने विश्वास गरिएको अध्यक्ष साउँदले बताए।

रामारोशन क्षेत्रका १२ वटा बण्ड र १८ वटा खण्डले पर्यटकलाई लोभ्याउने गरेका छन्। पछिल्लो समय यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ। महोत्सवको आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिइरहेका छन्।

प्रस्तुति दिन आएका कलाकारहरू पनि रमणीय रामारोशन क्षेत्रमा पुगेपछि उत्साहित देखिएका छन्। उनीहरूले रामारोशनको प्रचारप्रसारसँगै पूर्वाधार विकास र सरकारी लगानीको खाँचो औंल्याएका छन्।

महोत्सवमा जेठ ३ गते ज्योती मगर, ४ गते चक्र बम, ५ गते एलिना चौहानको प्रस्तुति रहनेछ भने ६ गते विशेष समारोहका बीच समापन गरिने आयोजकले जनाएको छ।


क्याटेगोरी : कला-साहित्य, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode