Techie IT
  • १८ फागुन २०८०, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कसले जन्माउँछ दुर्गा प्रसाइहरु ?


बलराम रोकाया

भोली गणतान्त्रिक शासन सत्ता विरुद्ध काठमाडौँमा दुर्गा पर्साइको नेतृत्वमा राजतन्त्रवादीहरूको आयोजनामा विरोध कार्यक्रम हुने कुरा सामाजिक सञ्जालका भित्ताहरूमा यत्रतत्र देखिँदै छन् । व्यक्तिगत बढी राजनीतिक कम तिक्तताका कारण सोही दिन नेकपा एमालेको भातृ संगठन युवा संघले काउन्टर कार्यक्रम गर्ने घोषणा गरिसकेको छ । जसको आधिकारिक उद्घोष नेकपा एमालेका युवा नेता महेश बस्नेतले विभिन्न सञ्चारमाध्यमबाट गराइरहेका छन् । दुई वटै कार्यक्रम एउटै ठाउँमा गर्न नदिने काठमाडौँ जिल्ला प्रशासनले एक विज्ञप्ति समेत जारी गरिसकेको छ । उनीहरूले कार्यक्रम गर्ने भनिएको ठाउँ माइतीघर र त्यस आसपासका ठाउँमा भोली देखि ३० गतेसम्म सार्वजनिक ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नमिल्ने समेत विज्ञप्तिमा उल्लेख । निषेधित क्षेत्र तोक्नुको पछाडी अराजनीतिक अभिव्यक्ति दिएर चर्चामा आइरहने एमाले नेता बस्नेत र अराजक, प्रतिगामी तत्त्वको नेतृत्व गरेका पर्साइका कारण आम नागरिकहरू हिंसाको सिकार हुनसक्ने आँकलन सरकारको हुनसक्छ । उसो त दुर्गा पर्साई भन्ने मनुष्य पछिल्लो समय नेपाली जनमा चिरपरिचित नाम हो । शासन सत्ताको छत्रछायामा व्यवसायी बनेका पर्साइ मेडिकल व्यवसायीको रुपमा परिचित छन् । तर केपी शर्मा ओली सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए पछिको प्रतिबन्धित पार्टीले मेडिकल माफिया विरुद्धको सङ्घर्षमा दुर्गा पर्साइलाई पनि मेडिकल माफियाको लिस्टमा राख्यो । तत्पश्चात् उनलाई मेडिकल व्यवसायी कम मेडिकल माफिया भनेर बढीले चिन्छन् । उनको राजनीतिक पृष्ठभूमि त सबैलाई ज्ञातै छ । उनकै शब्दमा भन्ने हो भने उनी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा चलेको वि.सं. २०५२ सालको महान् जनयुद्धमा प्रत्यक्ष सहभागी भएर महान् त्याग गरेका हुन् । माओवादी पार्टीको संसदवादी यात्रामा सहभागी भएर विवादास्पद बनेका समाचारहरू पनि नेपाली जनले सुनेकै, देखेकै हुन् । सायद माओवादीबाट स्वार्थ सिद्ध नहुने देखेपछि नै होला केपी ओलीको छहारी खोजेको । केहि समय एमालेमा लागेका पर्साई गएको निर्वाचनमा एमालेले उनलाई संसद्को उम्मेदवार बन्ने अवसर नदिएकोले विशेष गरी केपी ओलीप्रति आलोचना गर्दै हिँडेका थिए ।

पार्टीको नीति विपरीत बोल्दै हिँडेको भनी नेकपा एमालेले पार्टीबाट निष्कासन गरिसके पछाडी उनी सक्रिय रुपमा गणतन्त्र र गणतान्त्रिक शासक विरुद्ध जाइलाग्न थालेका हुन् । जसको आधिकारिक नाटक मञ्चन ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ को नाममा २०७९ फागुन १ गते झापामा गरे । जुन कार्यक्रममा उनले पूर्व राजा ज्ञानेन्द्र शाह र उनका परिवारलाई पनि सहभागी गराएका थिए । त्यसयता उनी निरन्तर खराब शासक विरुद्ध होइन हजारौँ नेपाली आमाका होनहार सपुतको महान् बलिदानीबाट अर्जेको गणतान्त्रिक व्यवस्था विरुद्ध धावा बोलिरहेका छन् । यसैको निरन्तरता स्वरूप उनले गर्न खोजेका छन् काठमाडौँमा कार्यक्रम ।

२४० वर्षीय निरंकुश सामन्ति राजसंस्थाको पतनसँगै निरंकुश तन्त्रको पुनर्जन्म हुने अपेक्षा सहित च्याँखे थापिरहेका राजावादी दाजुभाइहरू यतिखेर अलि बढी उत्साहित देखिन्छन् । जुम्लाबाट चप्पल पड्काउँदै, कथित सामाजिक अभियन्ताको पगरी गुथेर काठमाडौँ छिरेका ज्ञानेन्द्र शाही गणतन्त्रले दिएको असीमित अधिकार प्रयोग गर्दै संघीय संसदमा प्रवेश गर्नु, साम्राज्यवादीहरूको स्वार्थपूर्ति गर्न स्थापित लण्डनमा मुख्यालय रहेको बिबिसी न्युजमा कार्यरत हुँदा नेपाललाई भारतमा विलय गर्दा कस्तो हुन्छ भन्ने बहस चलाउने रवीन्द्र मिश्र समेत एकाएक जागिरबाट राजीनामा र वैकल्पिक शक्तिको नक्कली खोलमा स्व. उज्ज्वल थापाद्वारा युवाहरूको सहभागितामा बडो मेहनत गरेर निर्माण गरेको विवेकशील नेपाली पार्टी (युवा जोस बाहेक उक्त पार्टीको विचारप्रति म पूर्ण रुपमा असहमत थिएँ) को नक्कल गरी साझा समूह गठन, केहि समय पश्चात् विवेकशील पार्टीसँग एकता, एकताको केहि समय पछि कथित ‘विचार माथि देश’ भन्ने अराजनीतिक, अवैज्ञानिक, अराजक तर्क अघि सार्दै उक्त पार्टीलाई तहस नहस पारेर सडकमा पछारिएको केहि समय पश्चात् आफ्नो असली मुकुन्डो उतार्दै प्रतिगामी मार्ग (राजावादी) मा लम्पसार पर्दा हौसिएका उनीहरू दुर्गा पर्साइलाई आफ्नो बफादार चाकर ठानी विजयोत्सवको काल्पनिक सपना देख्दै छन् । प्रसाइहरुलाई असल, खराब ओकल्न छुट छ, किन कि यो गणतान्त्रिक फूलबारी हो । यहाँ हरेक रंग, रूपका फूलहरू फुल्ने र फक्रिने विशेषाधिकार सबै फुलहरूलाई छ । भलै देश गणतन्त्रमा प्रवेशसँगै गणतन्त्रलाई हाँक्ने नेताहरू असक्षम, अयोग्य, भ्रष्ट, व्यभिचारी होलान् तिनको विकल्प खोज्न सकिन्छ ।

अब मूल प्रश्नमा प्रवेश गरौँ । कसले जन्माउँछ दुर्गा प्रसाइहरु ?

हो दुर्गा प्रसाइहरु समय कालखण्डमा हरेक समाजमा जन्मिरहन्छन् । दुर्गा प्रसाइहरु जन्मिनुमा समाजको पनि आंशिक भूमिका त रहन्छ नै प्रमुख भूमिका भने राज्यसत्ताको नै रहन्छ । यहाँ एकजना झापाका मेडिकल व्यवसायी (माफिया) दुर्गा पर्साइ व्यक्तिको कुरा होइन, तिनै पर्साइका क्रियाकलाप, वाकशैली र हर्कतको मात्र पनि कुरा होइन मुख्य कुरा त प्रगतिशील समाजका प्रश्नहरू टिपेर आगो लगाउनेहरूको कुरा हो । प्रगतिशील भनिएको समाजमा प्रश्नहरू किन जन्मिन्छन् ? तिँ प्रश्नहरूको असली जन्मदाता को हो ? कारण नबुझी परिणामलाई मात्र धारे हात लगाउने हाम्रो समाजको प्रवृत्तिले यस्ता तमामखाले प्रश्नको उत्तर खोज्दै समाधान दिने प्रयत्न गर्दैनन् र अग्रगामीको सट्टा प्रतिगमनकारीहरूले यीँ नै प्रश्नहरूलाई टिपेर आगो लगाउने झिनो प्रयास गरिरहन्छ । सत्य कुरा भन्न हामीलाई कसले रोक्छ ? हजारौँ शहिदहरुले बलिदान दिएर प्राप्त भएको गणतन्त्रलाई हाँक्ने शासकहरूको शासन शैली नै हो दुर्गा पर्साइको जन्मदाता । आम नागरिकलाई दास बनाएर टिकेको सामन्ति राजाहरुको प्रत्यक्ष शासनमा कांग्रेस र एमालेका लिडरहरू राजाको पाउमा दाम चढाउँदै जीविकोपार्जन गरिरहेको बखत नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ सालमा क्रान्तिको शंखघोष ग¥यो । सुख, सयल त्यागी, देशी–विदेशीहरूको अन्तर विरोधमा चलाखीपूर्ण चाल चल्दै दुःख कष्ट अझ भनौँ आफ्नो जीवनको समेत प्रवाह नगरी क्रान्ति यात्रा पूरा गरेको नेपाल कम्युनिस्ट पार्टी र त्यसका नेतृत्वहरू सत्ताको सिंहासनमा चढेकै दिनदेखि उर्वर भूमि पाएको प्रतिगमनले दुर्गा एकजना जन्माउने नै भयो ।

मैले सत्य कुरा भन्दा अवसरवादी, भ्रष्ट, व्यभिचारी, नक्कली, चैते माओवादीहरूलाई भाउन्न भइहाल्छ । ठोस वस्तुको ठोस विश्लेषण गर्दा निष्कर्ष निस्किन्छ । २०६२÷०६३ पछिका सम्पूर्ण राजनीतिक, सामाजिक, साँस्कृतिक उपलब्धिको जस र सम्पूर्ण व्यथितिको अपजस नेकपा माओवादी र त्यसका नेतृत्वलाई जान्छ । जनयुद्ध लडेर आएको पार्टी र नेताप्रति नेपाली जनताको अपार श्रद्धा, विश्वास र भरोसा थियो । जसको साक्षी पहिलो संविधानसभाको निर्वाचन छ । जनताको मनमा स्थापित भनिएका ठालुहरूलाई धुलो चटाएर पहिलो पार्टी बन्नु त्यसैको परिणाम थियो । त्यसैले आज जति उपलब्धि भएका छन् त्यो माओवादी कै कारणले भएको हो । र जति अराजकता, भ्रष्टाचार, व्यथितिहरु भएका छन् त्यो पनि माओवादी कै कारणले भएको हो ।

संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्ने माओवादीले संसद्लाई उपयोग गर्नुको साँटो माओवादीलाई संसद्ले उपयोग नगरेको भए, गाउँ गाउँमा मठ, मन्दिर भत्काउँदै साँस्कृतिक क्रान्तिको नेतृत्व गरेर विगतको पाप मोचन गर्न विद्यालयको सट्टा टोल टोलमा मन्दिर निर्माण गर्दै, भोका नाङ्गा नागरिकको पेटमाथि लात मार्दै अलौकिक देवीहरूलाई सयौँ केजीका घण्टा चढाउँदै धार्मिक कट्टरपन्थीको पगरी नगुथेका भए, उति बेला छ महिना खान नपुग्नेहरूले यतिखेर श्रम गरेर नभई कमिसन र ठेक्कापट्टाबाट असुल गरेको पैसाले तराई तथा राजधानीमा महल खडा नगरेको भए, रुढीवादी र पुँजीवादी शिक्षाको विरोध गर्दै संस्कृति विश्वविद्यालय ध्वस्त पार्दै समाजवादी शिक्षा प्रणालीको वकालत गरेर गाउँ, सहरका सरकारी विद्यालयमा दक्ष शिक्षकको सट्टा आफ्ना चाकरीवाद, वफादार झोलेहरूलाई नियुक्त गर्दै देशकै महँगा र विदेशी दूतावासको निःशुल्क छात्रवृत्तिमा आफ्ना सन्तानहरूलाई नपढाएको भए, सुकुम्वासीलाई सामन्तहरुले हडपेर राखेको जमिन सुकुम्वासी नागरिकलाई वैज्ञानिक भूमिसुधार मार्फत वितरण गर्ने नारा बोकेर आफै भू सामन्त नबनेको भए, चाकडी गर्ने लठैतबाहेक इमान्दार नेता, कार्यकर्तालाई घर न घाटको नबनाएको भए, सहिदको रगतले जन्मेको जनमुक्ति सेना नेपाललाई तत्कालीन दरबारीया सेनाको सहयोगमा ब्यारेक कब्जा गर्दै म्यानपावर कम्पनीलाई आफै अकुत पैसा बुझाएर (म सँग ती म्यानपावरका कर्मचारीले दिएको प्रमाण छ आवश्यक भए सार्वजनिक गर्न सकिन्छ) जवर्जस्ती विदेशी भूमिमा नधकेलेको भए, जनवादी कलाकारहरूलाई यौन धन्दा गर्न बाध्य बनाएर पश्चिमा छाडा संस्कृतिलाई प्रसय नदिएको भए, उफ् !

नाथे दुर्गा प्रसाइहरु जन्मिनु त के विस्तारवादी र साम्रज्यवादीहरु पनि नेपालबाट अलप भइसक्थे । तसर्थ सम्पूर्ण प्रगतिशील राजनीतिक शक्तिहरू सँगै एक पटक पुनः माओवादी शक्तिहरू विगतका कमजोरीहरूको गम्भीर आत्मसमिक्षा गर्दै एकीकृत भएर वर्तमान समाजका प्रश्नहरूको उत्तर दिने सामर्थ्य राखौँ । यसमै माओवादी आन्दोलनको योगदान र नेपालीहरूको हित छ । नागरिक र सत्ताबिचको खाडल जब जब बढ्दै जान्छ, गरिखाने र बसी खाने बिचका अन्तर विरोधहरु जब जब बढ्दै जान्छन् तब तब दुर्गा प्रसाईहरु जन्मिरहन्छन् । भलै तिनका मकसद फरक–फरक होलान् । अन्तमा हजारौँ सहिदको रगत र हामी सारा नेपालीले लडेर ल्याएको गणतन्त्रलाई मास्न सक्रिय अराजक तत्त्वहरूको मिलेर सामना गरौँ । जनताको नजरमा डुङडुङती गनाएका वर्तमान शासकको विकल्प खोजौँ । दुर्गा प्रसाईहरु नजन्मिन हाम्रो राज्यसत्ता जनमुखी बन्न आवश्यक छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!