Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अध्यक्ष,उपाध्यक्षका गतिविधिले चिसो बान्नीगढीमा बढ्यो तापक्रम : सबै तिर किर्ते कामको चर्चा

गैर कानुनी तरिकाले मिलेमतोमा बजेट बाँडेको अध्यक्ष र उपाध्यक्षद्वारा घुमाउरो पारामा स्वीकार 


अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा शरद ऋतुको आगमनसंगै चिसो सुरु भैसकेको थियो । मंसीर सुरु नहुदैँ बाक्लो लुगा लगाउनै पर्छ । कैलाश खोला र छिपेखोला भएर आउने बुढीगंगाको हुस्सु र बान्नीको सिरेटोले कडा चिसोको आभास दिने गर्छ । तर यति बेला बान्नीगढी जयगढको चिसो मौसममा राजनीतिक तापक्रम चाहिँ तातो छ ।

खासगरी चालु आर्थिक वर्षको १ करोड बढी रकम गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र उपाध्यक्ष बिन्दु रावलले चोर बाटोबाट चुनावी खर्च उठाउन मिलेमतोमा बाँडेको तथ्य पश्चिम रैवारले सार्वजनिक गरेपछि  बान्नीगढी जयगढको तापक्रम बढेको हो ।

यति बेला बान्नीगढी जयगढको चिसो मौसममा बढेको तापक्रम कत्ति पनि घटेको छैन । विवादास्पद पृष्ठभूमिका भए पनि अनुभवका कारणले सकारात्मक रूपले हेरिएका अध्यक्ष टेकबहादुर साउद र उपाध्यक्ष बिन्दु रावल आफ्नो गैर कानुनी कामले गर्दा यति बेला नकारात्मक चर्चामा मात्रै छन्  । 

डल्लो भनेर राखिएको अबन्डा बजेट गाउँसभा मात्र होइन कार्यपालिकालाई समेत छलेर अध्यक्ष र उपाध्यक्षले योजना सुत्रमा राखेपछि बान्नीगढी जयगढ तातेको एक स्थानीय बासिन्दाले बताए । उनका अनुसार वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई जानकारीसम्म दिन कन्जुस्याइँ गरेपछि पूरा पालिकामा अध्यक्ष र उपाध्यक्षको कैफियतवाला निर्णयको चर्चा छ । 

बान्नीगढी जयगढमा अध्यक्ष र उपाध्यक्षले बजेटमा किर्ते गरेको कुरा गाउँ टोलसम्म भुसको आगो झैँ फैलिरहेको छ । अध्यक्ष साउद र उपाध्यक्ष रावल आफूले फत्ते गरेको किर्ते कामलाई ठिक हो भन्ने ध्याउन्नमा लागेको छन् । त्यसको ठिक विपरीत अध्यक्ष,उपाध्यक्षका भ्रष्टाचारको विरोधमा सुशासनको गफ सुनेका अरू जनप्रतिनिधि र स्थानीय बासिन्दा जिल्ल परेका छन् ।

बान्नीगढीको गाउँसभामा प्रस्तुत बजेटमा डल्लो बजेट देखेपछि हर्षित बनेका वडाले भने अनुसार बजेट नपाएका वडा अध्यक्ष सहितका गाउँ सभा सदस्यको मुहारमा उज्यालो धेरै दिन सम्म रहेन ।

प्रस्तुत बजेटमा सम्बोधन नभए पनि अबन्डा अर्थात्  डल्लोमा आम सर्वसाधारणका गुनासाहरु सम्बोधन हुने पुरापुर आस सहित समर्थन गरेको बजेटमा किर्ते भएको थाहा पाएपछि गाउँ सभामा गडगडाहट तालीले बजेट पारित गर्नेहरुको मुहारको उज्यालो हटेको छ ।

अध्यक्ष,उपाध्यक्षबाट धोका पाएपछि अरू इमानदार जनप्रतिनिधि (वडा अध्यक्ष,कार्यपालिका सदस्य र वडा सदस्य) जिल्ल परेका छन् । डल्लो भनिएको बजेटलाई सुटुक्क अध्यक्ष र उपाध्यक्षले कथित तजबीजमा आफू लाई फाइदा पुग्ने गरि चुनावी खर्च उठाउन चोर बाटोबाट किर्ते गरेपछि बजेट पारित गर्नेहरूले तीव्र असन्तुष्टि प्रकट गरेका छन् । 

बान्नीगढी जयगढको वडा नम्बर ४ तिमिल्सैनका वडा अध्यक्ष किरण खत्रीले भने “अध्यक्ष र उपाध्यक्षले अवन्डा भनिएको डल्लो बजेट आवश्यकता भन्दा पनि गाउँ सभा र नगर सभा लाई छलेर गैर कानुनी तवरले आफ्नाहरुको लागि वितरण गरेका छन् जुन सरासर गलत छ । ”

अछाम जिल्लाका सबभन्दा इमानदार र असल मध्यका वडा अध्यक्ष बान्नीगढिका पनि हुन । कार्यपालिका सदस्य र गाउँसभा सदस्यको हैसियतमा रहने वडा सदस्य पनि बान्नीगढीमा सक्षम अनि उत्तिकै इमानदार छन् ।  तर उनीहरूको इमानदारीतालाई मुल्याँकलन गरि पुरस्कृत गर्नुपर्नेमा  अध्यक्ष उपाध्यक्षले सुटुक्क आफ्नाहरूका योजना सुत्रमा राखेर  वडा अध्यक्ष , कार्यपालिका सदस्य र वडा सदस्य सहितको नगर सभा लाई आफ्नो व्यवहारबाट दण्डित गरेपछि बान्नीगढी तातेको छ । 

अध्यक्ष उपाध्यक्षको गैर कानुनी निर्णय भएको खुलासा गर्ने वडा नम्बर ४ तिमिल्सैनका वडा अध्यक्ष किरण खत्रीको भनाईमा पालिकामा अध्यक्ष र उपाध्यक्षले सिंगो गाउँ सभालाई अन्याय गरेका छन् ।

पालिकाको विज्ञप्ति औचित्यहीन सावित 

गाउँपालिका अध्यक्ष,उपाध्यक्षले मिलेमतोमा चोर बाटोबाट बजेट विनियोजन गरेको तथ्य सार्वजनिक भए पछि अध्यक्ष टेक बहादुर साउँदले कार्तिक २३ गते एक कर्मकाण्डी प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत स्वार्थ सिद्ध नभएको झोकमा पूर्वाग्राहि शैलीबाट समाचार प्रकाशित गरेको भन्दै समाचारको खेद प्रकट गरे, तर उनको आफ्नो प्रेस विज्ञप्तिको अवस्था “काम कुरा एकातिर कुम्लो बोकी ठिमी” तिर जस्तै छ । 

एक जना राजनीतिक कर्मीका अनुसार समाचारमा अध्यक्ष उपाध्यक्षले चोर बाटोबाट किर्ते गरेर बजेट विनियोजन गरेको प्रष्ट छ तर अध्यक्ष उपाध्यक्षले पालिकाको प्रेस विज्ञप्तिमा समाचारमा उल्लेख भएका योजनाको बारेमा स्पष्ट हुनुपर्थ्यो तर त्यो छैन । त्यसैले पालिकामा अध्यक्ष उपाध्यक्ष बाट बदमासी भएको उनीहरूको प्रेस विज्ञप्तिबाट नै थाहा हुन्छ ।

सुशासनको पक्षमा खुला रुपमा प्रस्तुत हुने वडा अध्यक्ष किरण खत्रीले समेत गाउँ पालिकामा अध्यक्ष र उपाध्यक्षले योजनामा किर्ते गरेको सार्वजनिक गरेका थिए ।

गाउँपालिका अध्यक्षले विज्ञप्तिमा वडा अध्यक्ष खत्री लाई छुन समेत नसक्नुले अध्यक्ष र उपाध्यक्षले १ करोड बढी बजेटमा किर्ते गरेको पुष्टि मात्र भएको छैन उक्त विज्ञप्ति आफैमा औचित्य नभएको कमजोर धरातलको नेपाली कागजको खोस्टो सावित भएको छ ।

अध्यक्ष साउदको अल्पज्ञान उदांगो

चाडपर्व लक्षित सुरक्षा,बजार अनुगमन लगायत समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रम गर्न पुगेका अछामका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा अधिकारीहरुको कार्तिक २४ गते जयगढमा जमघट भयो । बान्नीगढी गाउँपालिकाको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित अछामका प्रहरी प्रमुख र सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्मपति लगायतको उपस्थिति थियो ।

गाउँपालिका प्राङ्गणमा भएको कार्यक्रमको ब्यानरमा अन्तरक्रिया भने पनी त्यहाँ त्यस्तो थिएन । आफ्नो गैर कानुनी गतिविधिबाट पर्दा उठेपछि बान्नीगढी जयगढमा सार्वजनिक भएको वास्तविकताले दबाबमा देखीएका अध्यक्ष कार्यक्रम भर हस्तक्षेपमा उत्रेका थिए ।

आसन देखि भाषण सम्म पनि आलोचनाको स्वर दबाउनपट्टी मात्र उनको ध्यान थियो । कार्यक्रममा अध्यक्षको आसनमा रहेका पालिकाका सरकार प्रमुख आफ्नो कुरा सुनाउने र अरूको दोहोरो कुरा नसुन्ने मुडमा रहेको प्रष्ट बुझ्न सकिन्थ्यो ।

कार्यक्रममा चर्को शैलीमा प्रस्तुत हुन खोजेका अध्यक्षको हालत “ताल फुकेको था पाउँदिन पटुकी गड्याउदै” जस्तो थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रति प्रश्नको सामना गर्न डराएका अध्यक्ष साउदले कार्यक्रम समापनका क्रममा बजेट विनियोजनको तथ्य थाहा नपाएर १ करोड ९ लाख बाँडिएको समाचार प्रकाशन गरिएको समाचारको खिल्ली उडाउने शैलीमा बोल्दै अध्यक्ष र उपाध्यक्षले  मिलेमतोमा १ करोड ५ लाख ५२ हजार ९ सय भने बाँडिएको कुरा घुमाउरो पारामा स्वीकार गर्दा सहभागी सबैले मुखामुख गरेको दृश्य हेर्न लायक थियो ।

पालिका अध्यक्षले बोल्दै गर्दा अध्यक्ष उपाध्यक्षले चोर बाटोबाट बजेट विनियोजन गरेको सप्रमाण अभिव्यक्ति दिने तिमिल्सैनका वडा अध्यक्ष किरण खत्रीसंग आँखा जुधाउन समेत सकेनन् । 

कार्यक्रम समापनका क्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले बजेट विनियोजनका सन्दर्भमा अनाहक प्रचारबाजी गरिएको भन्दै खेद मात्रै प्रकट गरेनन् यस्ता गतिविधि गर्नेप्रति प्रहरी प्रशासन र साइवर ब्युरोको ध्यानाकर्षण गराएर मिडियाको नियमन अनुगमन र प्रकाशित समाचारमा चित्त नबुझे कसरी अगाडि बढ्ने भन्ने सामान्य जानकारी समेत नभएका उनले आफ्नो अल्पज्ञान सबैका सामु उदांगो पारे ।

भिडियो :-

उपाध्यक्ष रावलको स्विकारोक्ति

चोरको खुट्टा काट्नु पर्छ भन्दा चोरले खुट्टा खुम्चाएर तान्छ र चोर पत्ता लगाउने विधि सजिलो हुन्छ भन्ने उखान सुन्दै आएका बान्नीगढी जयगढका बासिन्दाले यो पटक उक्त उखान वास्तविकताको नजिक रहेको प्रष्टसँग बुझ्न पाएका छन् । 

बान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले चोर बाटो बाट बजेट विनियोजन गरेको समाचारमा सार्वजनिक भएपछि उपाध्यक्ष विन्दु रावलको स्विकारोक्ति फेसबुक मार्फत सार्वजनिक भएको छ ।

समाचारमा १ करोड ९ लाख बजेट उल्लेख हुँदा पुरै समाचार स्टाटस मार्फत झुटो सावित गराउने प्रयासको आफैँले खण्डन गरेकी छन् ।

समाचार लाई भ्रामक भनेर फेसबुकमा प्रस्तुत भएकी उपाध्यक्ष रावलले आफूहरूले १ करोड ५ लाख सुटुक्क बाडेको स्वीकार गरेर समाचार साँचो हो भनेर पुष्टि गरेकी छन् ।  पालिकाम १ करोड ५ लाखमा ३७ लाखका योजना, योजनको लागत र योजनाको नाम उनले आफैले सार्वजनिक गरेकी छन् ।

१ करोड ५ लाखमध्येबाट ३७ लाखका १५ वटा योजनाको बिवरण मात्र सार्वजनिक गरेर लेखिएको उनको स्टाट्सले ती योजना मात्र उनको भागको हुन् भन्ने सजिलै बुझ्न सकिन्छ ।

उपाध्यक्ष बिन्दु रावलको फेसवुक स्टाट्स :-


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode