Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाम किशोर मृत्यु प्रकरण

विनोदको रहस्यमय मृत्यु भएको १ बर्ष पुरा : पीडित परिवारले न्याय पाएनन्


अछामको पञ्चदेवल विनायक नगरपालिकाका १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणको १ बर्ष पुरा भएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही गत बर्ष जेठ १७ गते देखी बेपत्ता भएका थिए ।

स्थानीय तहको निर्वाचन पश्चात् जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच पञ्चदेवल नगरपालिकाको कालिकास्थानमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव जेठ २१ गते शनिबार स्थानीयले फेला पारेका थिए ।

मध्य पहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो ।

मृतक किशोरका आफन्तले काँग्रेसको योजना अनुसार हत्या भएको आरोप लगाउँदै आएका छन् । विनोदको रहस्यमय तरिकाबाट मृत्यु भएको १ बर्ष पुरा भई सक्दा समेत मुद्दाको किनारा लाग्न सकेको छैन ।

उनको हत्या अभियोगमा पुर्पक्षका लागी ४ जना कारागारमा रहेका छन् भने ५ जना अभियुक्त फरार रहेका छन् ।

मृतकका आफन्तले हत्या आरोपमा नगर प्रमुख अम्बिका चलाउने,जिल्ला समन्वय समिति उप प्रमुख दानमती बम शाही,निवर्तमान वडा अध्यक्ष सर्जन शाही,राम बहादुर शाही,नेत्र शाही,पृथ्वी शाही,देवेन्द्र शाही,महेन्द्र शाही,वीरेन्द्र शाही,द्रोपती शाही,शान्ति शाही,कर्ण शाही र अक्कल शाही विरुद्ध मुद्दा दर्ता गराएका थिए ।

विनोदको हत्यामा संलग्न भएको भन्दै मृतकका परिवारले १३ जना विरुद्ध मुद्दा दर्ता गरेकोमा नगर प्रमुख अम्बिका चलाउने,राम बहादुर शाही,नेत्र शाही विरुद्ध मुद्दा चलाउन प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयले निर्णय गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ को दफा ३१ अनुसारको प्रमाण नपुगेको भन्दै ३ जना विरुद्ध मुद्दा अघि नबढाउने सरकारी वकिलको कार्यालयले निर्णय गरेका थियो ।

फरार अभियुक्त अक्कल शाही प्रहरी नियन्त्रणमा

हत्या अभियोग पश्चात् फरार रहेका १ जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।

गत वर्षको जेठ २१ गते मृत भेटिएका पंचदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका विनोद शाहीको हत्या अभियोग लागेका स्थानीय अक्कल बहादुर शाहीलाई बिहीबार प्रहरीले कालिकास्थानबाट नियन्त्रणमा लिएको हो ।

उनी विनोदको मृत्यु भए पश्चात् फरार रहेका थिए ।

केहि दिन यता गाउँघरमा लुकीछिपी बसिरहेको पीडित परिवारको गोप्य सूचनाका आधारमा उनलाई घर नजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


विनोदको न्यायका लागी अगुवाइ गर्दै आएका बखत बहादुर शाहीका अनुसार उनलाई पीडित परिवारको अगुवाइमा नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाइएको हो ।

विनोदको हत्या अभियोगमा ४ जना कारागारमा रहेका छन् भने बिहीबार नियन्त्रणमा लिइएका अक्कल बहादुर शाहीलाई शुक्रवार प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

जिल्ला समन्वय उप प्रमुख दानमती बम शाही सहित ५ जना फरार

विनोदको हत्या अभियोग लागेका ५ जना अझै फरार रहेका छन् । १५ वर्षीय युवकको मृत्यु पश्चात् बेपत्ता भएका ५ जना अझै पनि फरार रहेका हुन् ।

फरार हुनेमा जिल्ला समन्वय समिति अछामकी उप प्रमुख दानमती शाही समेत रहेकी छन् । जिल्ला समन्वय समितिको उप प्रमुखमा निर्वाचित भएकी उनी विनोदको मृत्यु पश्चात फरार रहेकी हुन् ।


उनीसँगै फरार हुनेमा निवर्तमान वडा अध्यक्ष सर्जन शाही समेत रहेका छन् । उनी पंचदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका निवर्तमान वडा अध्यक्ष हुन् । यस्तै स्थानीय द्रोपती शाही,शान्ति शाही र कर्ण शाही समेत फरार रहेका छन् ।

आरोपितहरू राजनीतिक संरक्षणमा खुलेआम हिँडिरहेका छन् : मृतकका आफन्त

मृतकका आफन्त तथा विनोदको न्यायका लागी अगुवाइ गर्दै आएका बखत बहादुर शाहीका अनुसार हत्या अभियोग लागेकाहरू सत्ता र शत्तिको आडमा खुलेआम हिडिरहदा समेत प्रहरी मूकदर्शक बनेको छ ।

अभियोग लागेकाहरू सांसद मन्त्री लगायत उच्च पदश्तहरुसंग भेटघाट सहितका तस्बिर सामाजिक संजालमा पोस्ट गर्न व्यस्त भईरहका समेत प्रहरी प्रशासन मौन रहेको उनको भनाई छ ।

अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहसँग अभियुक्त निवर्तमान वडा अध्यक्ष सर्जन शाही ढाका टोपीमा

मृतकका परिवारसँग अभियोग लागेकाहरु जम्काभेट भइरहँदा प्रहरीको नजरमा उनीहरू नपर्नुले सत्ता र शक्तीको अघि प्रहरी प्रशासन झुकेको महसुस भईरहेको उनले बताएका छन् ।

अभियुक्तहरू खुलम रुपमा सांसदसँग उठबससँगै सामाजिक संजालमा व्यस्त हुने तर प्रहरीले नियन्त्रणमा लिन नसक्ने जस्ता गतिविधिले पीडित पक्ष दोषीजस्तो र दोषी पक्ष पीडित जस्तो देखीएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।


क्याटेगोरी : अपराध, पश्चिम खोज, राजनीति

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode