Hikmat Acharya
  • ९ जेठ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

बिहानैदेखि मेघगर्जनसहित वर्षा : सुदूरपश्चिममा चट्याङ, तराईमा हावाहुरी


आज बिहानैदेखि धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

देशभरकै मौसम बदली भइ मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि मेघगर्जन र चट्याङ परेको छ । अन्य क्षेत्रमा मेघगर्जन भए पनि सुदूरपश्चिममा जोखिम धेरै देखिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा चट्याङको जोखिम धेरै रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । चट्याङ परेका बेला सम्भव भएसम्म घरभित्रै बस्नु सुरक्षित हुन्छ । घरबाहिर भए पनि सुरक्षाको उपाय अपनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार चट्याङ परेका बेला घरभित्रको विद्युतीय उपकरणको स्वीच अफ गर्नु पर्छ । यस्तै, टीभी, कम्प्युटर आदिको तार तथा धातुबाट बनाइएको झ्याल–ढोका आदिलाई छोएर बस्नु हुँदैन भने अग्लो एवम् खुला डाँडा, टावर, छत, रुख आदिमा नबस्न उहाँको सुझाव छ । उहाँका अनुसार भुइँमा सुत्नु, भित्तामा अडेसिनु पनि जोखिमयुक्त हुन सक्छ ।

चट्याङ परिरहेको बेलमा धारा खोलेर पानीको प्रयोग गर्नु पनि जोखिमपूर्ण हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको हो ।

यस्तै, तराईका जिल्लामा आज हावाहुरीसहित वर्षा हुने अनुमान गरिएको छ । गएराति पनि काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो । लगातारजसो मौसम बदली भइ पानी परिरहेकाले चिसो भएको छ । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्ने जाने मौसमविद्ले बताएका छन् । उज्यालो अनलाईनबाट साभार


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode