Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नेकपा एमालेको मिसन ग्रासरूट अभियान अछाममा तीव्र पारिँदै


नेकपा एमालेको मिसन ग्रासरूट अभियानलाई थप प्रभावकारी बनाउन एमाले अछामले एक दिनको जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीमा सम्बद्ध जिल्ला कमिटी, जनसङ्गठन, पेसागत सङ्गठन र पालिकाका स्तरका प्रमुख उपप्रमुखलगायतलाई अभिमुखीकरण गरिएको हो ।

प्रशिक्षणका क्रममा देशको राजनीतिमा एमालेको भूमिका र अवस्था, नीति, सिद्धान्त र पार्टीले आगामी दिन लिने रणनीतिका बारेमा प्रशिक्षण गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज शिवराज ढुङ्गानाले दिए ।

कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रीय स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दशौ राष्ट्रिय महाधिवेशनको कार्यदिशा र समसामयिक राजनीति विषयमा प्रशिक्षण दिएका छन् । स्थायी कमिटी सदस्य थापाले सबै नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पूर्ण रूपमा पालना गरेर पार्टीका कामलाई मजबुत बनाउन उनले निर्देशन समेत दिएका छन् ।

थापाले एमाले मात्रै जनताको पार्टी भएकोले नेता कार्यकर्ताले खटेर जनतासँगै रहनुपर्ने भनाइ राखेका थिए । थापाले नेपालको राजनीति अवस्था, एमाले माथि भएका देशी विदेशीको आक्रमण, पार्टीले देश र नागरिकप्रति लिएको नीति र अडानका बारेमा व्याख्या गरेका थिए ।

पार्टीका पोलिटब्युरो सदस्य गौरी ओलीले पार्टी निर्माण सम्बन्धि दृष्टिकोण र पार्टी सदस्यको कार्यशैली बारेमा प्रशिक्षण दिएकी थिइन् । उनले एमाले नेता कार्यकर्ताको भूमिका, जिम्मेवारीका बारेमा व्यावहारिक पक्षमा जोड दिइन् ।

केन्द्रीय सदस्य दयाल बहादुर शाहीले अन्य राजनीति दलहरूसँग एमालेको राजनीतिक र वैचारिक भिन्नता, केन्द्रीय सदस्य आशा विकले समाजवादको आधार निर्माणमा सुखी र समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा,यज्ञबहादुर बोगटीले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता बिरुद्धको सङ्घर्ष विषयमा प्रशिक्षण दिएका थिए ।

यस्तै मिसन ग्रासरूटको प्रदेशको योजना र अछामसँगको अन्तरसम्बन्धका बारेमा प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना र मिसन ग्रासरूटको औचित्यता र आवश्यकताका बारेमा प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैसीको प्रस्तुति रहेको थियो ।

प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी, स्थानीय तहका प्रमुख उपप्रमुख, जनसङ्गठन केन्द्रीय सदस्य र पेसागत सङ्गठनका जिल्ला अध्यक्षको सहभागिता रहेको थियो । नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले मिसन ग्रासरूटको जिल्लाभरिको कार्य योजना र एमाले अछामको साङ्गठनिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

नेकपा नेकपाले अछामका १० स्थानीय तह विभाजन गरेर तीन केन्द्रीय सदस्य खटाएको छ । केन्द्रीय सदस्य गौरी ओली, दयाल बहादुर शाही र आशा विक र विभिन्न पालिकाहरूमा प्रदेश कमिटीका सदस्य पनि खटाइएको छ । यस्तै एमाले अछामले पनि जिल्ला कमिटीका सदस्यहरूलाई ९१ वटै वडामा पुग्ने गरेर खटाएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले जानकारी दिएका छन् ।

पालिका र वडामा खटाइका प्रतिनिधिहरूले दुई महिना एमालेको सङ्गठन सुदृढीकरण, निर्माण र व्यवस्थित बनाउने छन् । साथै सरकार र पार्टीप्रति जनताका अपेक्षा सङ्कलन गरिनेछ ।

एमाले अछामका अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सञ्चालन जिल्ला सचिव भीमबहादुर रावलले सञ्चालन गरेका थिए । मङ्गलसेनमा अभिमुखीकरणपछि केन्द्रीयदेखि जिल्ला स्तरबाट खटाइएका प्रतिनिधिहरुले दुई महिना आफ्नो कार्यक्षेत्रमा तोकिएको काम सम्पन्न गर्नुपर्नेछ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode