Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बयालपाटा अस्पतालको दीर्घकालीन व्यवस्थापनका लागी प्रतिबद्ध छु : सांसद शाह


प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाहले बयालपाटा अस्पतालको विकासका लागि कुनै पनी कुराको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

बयालपाटा अस्पतालले यस क्षेत्रका नागरिकहरूका लागि निकै राम्रो स्वास्थ्य सेवा दिइरहेकाले यो सेवालाई निरन्तरता दिनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । अस्पतालले सञ्चालन गरेको यो सेवाले आम नागरिकहरू लाभान्वित भएको भन्दै यो अस्पतालको विकास गर्नु अपरिहार्य रहेको उनको भनाई छ ।

अहिले आर्थिक अभाव झेलिरहेको अस्पतालमा थप बजेटको व्यवस्थापन गरि गुणस्तरीय स्वास्थ्य सेवाका लागि अन्य क्षेत्रबाट पनि सहयोग हुन आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।

अस्पतालको आर्थिक वर्ष २०७८/७९ को सामाजिक परीक्षण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रतिनिधिसभा सदस्य शाहले अस्पतालमा दक्ष जनशक्ति सहित आवश्यक उपकरणको व्यवस्थापन गर्नका लागि नेपाल सरकारसंग जोडदार माग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

अछाम जिल्लाका धेरै नागरिकहरूले सानो उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकाले यी बाध्यताको अन्त्य गर्नका लागि नेपाल सरकारले यो अस्पतालको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले बयालपाटा अस्पतालले सञ्चालन गरेको स्वास्थ्य सेवा बाट निकै प्रभावित भएको भन्दै यो सेवालाई निरन्तरता दिन अनुरोध गरेका थिए ।

मंगलसेन नगरपालिकाले मंगलसेन नगरपालिकामा रहेको जिल्ला अस्पताल अछामलाई समेत सहयोग गर्नुपर्ने बाध्यता भएकाले बयालपाटा अस्पताललाई आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्न नसकेको बताउँदै अस्पतालको विकासका लागि आगामी दिनमा पनि गर्दै आएको सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका प्रमुख कर्ण बहादुर थापाले अछामको बयालपाटा अस्पतालले बाजुरा जिल्लाका नागरिकहरूलाई स्वास्थ्य सेवा दिएर ठुलो गुन लगाएको भन्दै अस्पतालले गरेका कार्यहरूको खुलेर प्रशंसा गरेका थिए ।

सोही अवसरमा बोल्दै बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले बान्नीगढी गाउँपालिका बयालपाटा अस्पतालको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

साँफेबगर नगरपालिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका सदस्य नरेन्द्र बहादुर कुँवर, नेपाली काँग्रेसका बम बहादुर स्वार, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश बहादुर शाह, विभिन्न वडा अध्यक्ष साँफेबगर नगरपालिका वडा न ७ का अध्यक्ष हिक्मत बहादुर कडायत, समाजसेवी जयन्द्र बहादुर स्वाँर, पत्रकार धनराज साउद, महिला अगुवा दुधकला बिष्ट लगायतले मन्तव्य राख्दै बयालपाटा अस्पतालको विकासका लागि जिल्लाका १० वटै पालिकाबाट सहयोग गर्नुपर्ने र जिल्लाका सरोकारवालाले यो अस्पताललाई नेपाल सरकारको मातहतमा सञ्चालन गर्नका लागि दबाब दिनुपर्ने माग गरेका थिए ।

आर्थिक वर्ष २०७८÷८० मा २० करोड ५४ लाख ७३ हजार २ सय १२ रुपैयाँ खर्च भएको जानकारी गराइएको थियो भने २० करोड ५३ लाख २४ हजार ७ सय ४२ रुपैयाँ विभिन्न क्षेत्रबाट अस्पताललाई सहयोगको रूपमा प्राप्त भएको जानकारी गराइएको थियो । कार्यक्रमको उद्देश्य सहित अस्पतालको अवस्थाको बारेमा बयालपाटा अस्पतालका निर्देशक डाक्टर मन्दिप पाठकले प्रस्तुत गरेका थिए ।

स्थानीय सरकार साझेदार तथा स्वास्थ्य सेवा व्यवस्थापक हेम बहादुर विश्वकर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन अस्पतालका सूचना अधिकारी पूर्ण बहादुर खड्काले गरेका थिए । सामाजिक परीक्षण कार्यक्रमको सहजीकरण पत्रकार टेक बहादुर थापाले गरेका हुन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode