Techie IT
  • १ पुस २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा पत्रकारमाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ


धनगढीमा पत्रकारमाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ

धनगढी : धनगढीबाट सञ्चालित नयाँ सन्देश अनलाइन की प्रधानसम्पादक रमा चन्दमाथि दुर्व्यवहार गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा २८ वर्षीय मनीष श्रेष्ठ र धनगढी–४ का विकास भट्ट रहेका छन्। श्रेष्ठ पाल्पा घर भई हाल धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक हुन्।

धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको समाचार संकलनका क्रममा चन्दमाथि दुर्व्यवहार भएको हो।

महोत्सवबारे क्यामेरामा बोलिरहेकै बेला पछाडिबाट आएका एक युवकले जानाजानी जोरले धक्का दिएको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको थियो।

पीडितको उजुरीका आधारमा प्रहरीले सोमबार साँझ मनीष श्रेष्ठलाई पक्राउ गरेको थियो भने घटनामा संलग्न विकास भट्टलाई मङ्गलबार घरबाटै नियन्त्रणमा लिइएको प्रहरी सह–प्रवक्ता काशिसिंह विष्टले जानकारी दिए।

घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा कैलाली जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण जनाउँदै सार्वजनिक स्थलमा पत्रकारमाथि भएको दुर्व्यवहार निन्दनीय भएको बताएका छन्।

महासंघले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि आघात पुग्ने यस्ता घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode