सहिद दशरथचन्द विश्वविद्यालय
उपकुलपतिका लागि आवेदन शून्य : मन्त्री पुनको सार्वजनिक अपिल
धनगढी । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागी दुई–दुई पटक विज्ञापन खोलिदा समेत एकजनाले पनि आवेदन नदिएपछि यो कुरा अहिले धेरै चर्चामा आएको छ।
विश्वविद्यालयले कार्तिक १५ मा विज्ञापन खोलेको थियो। म्याद सकिएपछि मंसिर ५ गतेसम्म समय पनि थपियो। तर अन्तिम दिनसम्म पनि उपकुलपतिका लागि कसैले आवेदन दिएका छैनन्।
उपकुलपति बन्नका लागि मागिएका योग्यता धेरै कडा छन् । विश्वविद्यालय ऐनको दफा २४ मा मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधा (हेल्थ प्रोफेसनल एजुकेसन) मा विद्यावारिधि, डिएम, एमसिएच वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने योग्यता राखिएको छ।
यस्तै, कुनै विश्वविद्यालयमा कम्तीमा १० वर्ष प्राध्यापक पदमा काम गरेको अनुभव, शैक्षिक तथा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट नेतृत्व र व्यवस्थापकीय कौशल प्रदर्शन गरेको, अनुसन्धानमुखी परियोजना सफलतापूर्वक सम्पन्न गरेको तथा राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान लेख तथा सन्दर्भ सामग्री प्रकाशित गरेको हुनुपर्ने र उम्मेदवारको उमेर ४५ वर्ष पूरा भई ६१ वर्ष ननाघेको तथा प्रचलित कानून अनुसार सार्वजनिक पदमा नियुक्त हुन अयोग्य नठहरिएको शर्त पनि लागू हुनेछ।
उपकुलपति छनोटका लागी तोकिएको मापदण्ड योग्यताका कारण नै दरखास्त नपरेको अधिकाँसको बुझाई छ ।
शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै उपकुलपतिका लागि आवेदन पेश गर्न अपिल गरेका छन्। उनले भनेका छन् “स्वास्थ्य क्षेत्रमा लामो समय काम गर्नुभएको, योग्य र इच्छुक व्यक्ति हुनुहुन्छ भने कृपया आवेदन दिनुहोस्, आवश्यक परे मलाई नै सम्पर्क गर्नुस्।”
उपकुलपति नहुँदा विश्वविद्यालयका धेरै काम अघि बढ्न सकेको छैन भने रनेतृत्व अभावका कारण समस्या बढ्दै गएको छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा






प्रतिक्रिया