सुदूरपश्चिममा चुनावी सुरक्षा रणनीति बनाउँदै सरकार
धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढीमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशको शान्ति सुरक्षालाई केन्द्रमा राखेर उच्चस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारी र रणनीतिका विषयमा केन्द्रित यो गोष्ठीमा संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रमुख सुरक्षा अंगका प्रमुखहरूको उपस्थिति रहेको छ ।
गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा मंगलबार जारी गोष्ठीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । शाहले संघीय सरकारसँग सहकार्य गर्दै अघि बढ्न प्रदेश सरकार सधैं तत्पर रहेको बताए ।
‘मुलुकलाई चुनावी माहोलमा लैजाने क्रममा जनताको इच्छा, आकांक्षा र विश्वासलाई केन्द्रमा राख्नुपर्छ । संघीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्दा तीनै तहबीचको समन्वय र सहकार्य अझ प्रभावकारी हुन्छ,’ उनले भने।
मुख्यमन्त्री शाहले नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न र उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।
सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो । भदौ २३ र २४ गतेका आन्दोलनका विषयमा संकेत गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । सुरक्षा गोष्ठीका लागि गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार नै धनगढी पुगेका छन् ।
उनीसँगै गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि गोष्ठीमा सहभागी छन् ।
आज बिहान ९ बजेदेखि सुरु भएको गोष्ठीको उद्घाटन सत्रमा सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री हिरा सार्की, मुख्यमन्त्री शाह र गृहमन्त्री अर्यालले मन्तव्य राखेका थिए । गृह मन्त्रालयका सहसचिवले गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
बन्द सत्रमा जिल्लागत र प्रदेशगत सुरक्षा चुनौती, अपराध नियन्त्रण, र सीमा सुरक्षाको वस्तुगत अवस्थाबारे गम्भीर छलफल हुने बताइएको छ । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखले विशेष प्रस्तुति राख्ने यो सत्रमा मुख्यतः फागुन २१ गते हुने निर्वाचनको सुरक्षा रणनीतिका विषयमा गहन विमर्श हुनेछ ।
कार्यक्रमको समापन गृहसचिव रामेश्वर दंगालले सुरक्षा निकायका प्रमुखहरू, प्रदेश प्रमुख सचिव र मन्त्रीहरूको मन्तव्यपछि गर्ने कार्यतालिका रहेको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया