‘म्यादी’ होइन अब ‘निर्वाचन प्रहरी’
धनगढी : सुरक्षित र शान्तिपूर्ण निर्वाचन व्यवस्थापनको तयारीसँगै सरकारले अबसम्म प्रयोग हुँदै आएको ‘म्यादी प्रहरी’ शब्दावली हटाउने निर्णय गरेको छ।
केन्द्रीय सुरक्षा समितिको बैठकले निश्चित समयावधिका लागि भर्ना हुने सुरक्षाकर्मीलाई अब ‘निर्वाचन प्रहरी’ भनेर सम्बोधन गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यका अनुसार समुदायमा ‘म्यादी’ शब्दले हिनताबोध र कमजोरीको भावना फैलाउँदै आएको गुनासोपछि नयाँ नामकरण गरिएको हो।
उनका अनुसार आगामी निर्वाचनका लागि ४० दिन अवधिका लागि सवा एक लाखभन्दा बढी निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइनेछ। निर्वाचन प्रहरीले प्रहरी जवानसरहकै तलब–भत्ता पाउने व्यवस्था गरिएको छ।
यतिबेला भदौ २३ र २४ का घटनामा संलग्न रहेर आगोझोस्ने युवासमेत निर्वाचन प्रहरीमा पर्न सक्छन् कि भन्ने प्रश्न उठिरहेकै बेला उपसचिव आचार्य भन्छन्, “त्यसो हुँदैन। भर्नाभन्दा अघि नै प्रहरी हेडक्वाटले स्पष्ट मापदण्ड र कोड सेट गरेको हुन्छ। उनीहरूलाई अधिकृत स्तरका प्रहरीकै नेतृत्वमा खटाइन्छ।”
सरकारले सुरक्षा खतराको मूल्यांकनलाई आधार बनाएर निर्वाचन सुरक्षा व्यवस्थापनलाई अझ कडाइपूर्वक लागू गर्ने तयारी गरेको बताइएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया