Hikmat Acharya
  • ११ मंसीर २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

अछामको कालिकामा जीवी मेमोरियल क्रिकेट लिग हुने


अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ सुगालीस्थित थालाकोट खेलमैदानमा पहिलो पटक जीवी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ।

स्वर्गीय बुवा गोकर्ण रावलको सम्झनामा छोरा सुरज रावलले जीवी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग आयोजना गर्न लागेका हुन्।

अछाममा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेका क्रममा गोकर्णको अरिगांलले टोकेर निधन भएको थियो। अष्ट्रेलियामा बस्दै आएका सुरजले जीवी फाउन्डेशन मार्फत क्रिकेट प्रतियोगिता गरिरहेका हुन्।

रावलका अनुसार लिग मंसिर २३ गतेदेखि सुरु हुने तयारी पूरा भएको हो। प्रतियोगितामा अछामका १० स्थानीय तहभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थी मात्र सहभागी हुन पाउनेछन्।

साथै, प्रत्येक टिममा सम्बन्धित पालिकाभित्रका २२ वर्ष मुनिका विद्यालय बाहिरका तीन खेलाडी समावेश गर्न सकिने व्यवस्था गरिएको छ।

टिमले विद्यालयमार्फत मात्रै प्रतिनिधित्व गर्न पाउने र नगरपालिकाबाट दुई तथा गाउँपालिकाबाट एक टिम मात्र सहभागी गरिनेछ। एक टिममा १५ खेलाडी रहनेछन्। दर्ता शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ।

विजेता टिमलाई एक लाख रुपैयाँसहित मेडल र ट्रफी, उपविजेतालाई पचास हजार र तेस्रो स्थानलाई पन्ध्र हजार प्रदान गरिनेछ। खेलाडीले खान–बस्ने व्यवस्था आफैं गर्नुपर्नेछ भने आयोजकले निशुल्क जर्सी सेट उपलब्ध गराउनेछ।

जन्मदर्ता र विद्यार्थीको विद्यालय परिचयपत्र अनिवार्य कागजातको रूपमा मागिएको छ। टिम दर्ताको अन्तिम मिति मंसिर २२ तोकिएको छ।

आयोजकले सबै पालिकाका शिक्षा शाखालाई विद्यालयका खेलकुद शिक्षकमार्फत खेलाडी छनोटमा सहकार्य गरिदिन आग्रह गरेको छ।


क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode