टी-२० विश्वकपमा नेपाल कठिन समूहमा
धनगढी: आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल कठिन समूहमा परेको छ । आईसीसीले मंगलबार बेलुकी सार्वजनिक गरेको ड्रमा नेपाल समूह ‘सी’मा परेको हो ।
नेपालको समूहमा तीन टेस्ट राष्ट्र इंग्ल्याण्ड, वेस्ट इन्डिज र बंगालादेशसँगै इटालीपनि रहेको छ । वेस्ट इन्डिज दुईपटक र इंग्ल्याण्ड एकपटकको टी-२० विश्वकप च्याम्पियन टोली हो ।
यस्तै नेपाल र बंगलादेश भने तीनपटक एकै समूहमा परेका छन् । नेपालले तीनपटक विश्वकप खेल्दा नेपाल र बंगलादेश तीनपटकनै एकै समूहमा रहेका छन् ।
यसअघि सन् २०१४ र गत वर्ष भएको टी-२० विश्वकपमापनि नेपाल र बंगलादेश समूहचरणमै भिडेका थिए । नेपालले हालसम्म बंगलादेशलाई हराउन भने सकेको छैन ।
यता नेपालले गत सेप्टेम्बरमा युएईमा भएको तीन खेलको एतिहासिक टेस्ट सिरिजमा वेस्टइन्डिजलाई २-१ ले हराएको थियो भने इंग्ल्याण्डसँग पहिलोपटक आमने सामने हुने भएको छ ।
नेपालले ८ फेब्रअरीमा इंग्ल्याण्डसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ भने १२ फेब्रअरीमा इटाली, १५ फेब्रुअरीमा वेस्ट इन्डिजसँग र १७ फेब्रुअरीमा बंगलादेशसँग खेल्नेछ ।
सबै खेल मुम्बईमा हुनेछ । यस्तै समूह ‘ए’मा भारत, पाकिस्तान, नामिबिया, नेदरल्यान्ड्स र अमेरिका छन् भने समूह ‘बी’मा अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् ।
समूह ‘डी’मा अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र युएई रहेका छन् । प्रतियोगिताको उद्धाटन खेल फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड्सबीच कोलम्बोमा हुनेछ ।
पहिलो दिनमै वेस्ट इन्डिज र बंगलादेश कलकता र भारत र अमेरिका मुम्बईमा भिड्नेछन् । यससँगै टी-२० विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपको एकै दिन तीन खेल हुने भएको छ ।
विश्वकप भारतको पाँच र श्रीलंकाको तीन रंगशालामा हुनेछ । समूहचरणबाट शीर्ष दुई स्थानमा रहने आठ टोली सुपर आठमा पुग्नेछन् ।
उक्त आठ टोलीलाई सुपर आठमा दुई समूहमा विभाजन गरिनेछ भने शीर्ष दुई स्थानमा रहने चार टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ८ मा अहमेदाबादमा हुनेछ ।
यदि पाकिस्तान फाइनलमा पुगेको खण्डमा फाइनल खेल कोलम्बोमा हुनेछ ।
क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार










प्रतिक्रिया