Hikmat Acharya
  • १० मंसीर २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

एकिकृत समाजवादी डडेल्धुरा ‘नेपाली कम्युनिष्ट पार्टी’मा समाहित


डडेल्धुरा: साविकको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी डडेल्धुराले सर्वसम्मत रुपमा नेपाली कम्युनिष्ट पार्टी निर्माण अभियानमा समाहित हुने निर्णय गरेको छ।

सोमबार पार्टी कार्यालय डडेल्धुरामा सम्पन्न बैठकले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सबल बनाउने उद्देश्यले स्थापना गरिएको नेपाली कम्युनिष्ट पार्टी निर्माणमा एकतावद्ध भएर लाग्ने निर्णय गरेको पार्टी अध्यक्ष कविन्द्र बिष्टले बताए।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) डडेल्धुरा जिल्ला कमिटीको बैठकले पार्टी केन्द्रले अघि सारेको एकता तथा पुनर्गठन प्रक्रियालाई पूर्ण स्वीकार गर्दै जिल्लाका सम्पूर्ण संरचनालाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित गर्ने सर्वसम्मत निर्णय गरेको हो।

जिल्ला अध्यक्ष बिष्टको अध्यक्षतामा सोमबार बसेको बैठकमा केन्द्रदेखि प्रदेश र जिल्ला तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरबहादुर बिष्ट, केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज सकुन्तला नगरकोटी, प्रदेश कमिटीका प्रतिनिधिहरू, जिल्ला कमिटीका पदाधिकारी, सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरू सहभागी रहेका थिए।

हाल कम्युनिष्ट आन्दोलनमा देखिएको विभाजन, दोधार र शक्ति विखण्डनले जनतामा सिर्जना गरेको निराशालाई सम्बोधन गर्न तथा वैचारिक र संगठनात्मक एकता कायम गर्दै बलियो कम्युनिष्ट विकल्प निर्माण गर्ने उद्देश्यले साविकका १० वटा पार्टीहरु मिलेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण भएको हो।

देशभरि चरणबद्ध रूपमा भइरहेका एकता भेलाहरू, कार्यकर्ता भेला र संगठन विस्तार अभियानको निरन्तरता स्वरूप डडेल्धुराले पनि औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने घोषणा गरेको हो।

बैठकमा सहभागी नेताहरूले वाम राजनीतिको ऐतिहासिक परम्परा, देशको वर्तमान राजनीतिक अस्थिरता, आर्थिक चुनौती र जनजीविकाको मुद्दामा निरन्तर बढ्दो असन्तोषलाई समाधान गर्न एकीकृत तथा वैचारिक रूपमा स्पष्ट कम्युनिष्ट पार्टी आवश्यक रहेको धारणा राखेका छन्।

उनीहरूले पार्टी निर्माण अभियानलाई युगीन राजनीतिक आवश्यकता भन्दै जिल्लाबाटै यसको सशक्त आधार तयार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

बैठकमा डडेल्धुरा जिल्लाबाट एकिकृत समाजवादीको केन्द्र, प्रदेश र जिल्ला कमिटीका सम्पूर्ण संरचनाका साथै जनवर्गीय तथा भातृ संगठनहरूमा रहेकाहरुलाई समेत समायोजन गर्ने निर्णय गरेको छ।

जिल्ला नेताहरूका अनुसार अब प्रदेश भेला पश्चात चाँडै नै संयुक्त भेला, सार्वजनिक घोषणा तथा संगठनात्मक अभियान सञ्चालन गरी नेपाली कम्युनिष्ट पार्टी निर्माण अभियानलाई जनस्तरमा पुर्‍याइनेछ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode