स्वतन्त्र नेताहरू एकपछि अर्को पार्टीतिर, गोपाल हमाल कता ?
धनगढी : देशभर स्वतन्त्र पृष्ठभूमिबाट आएका लोकप्रिय जनप्रतिनिधि नयाँ पार्टी निर्माणतिर उन्मुख भइरहेका बेला धनगढीका नगरप्रमुख गोपाल हमाल भने बिलकुलै फरक दिशामा देखिन थालेका छन्।
बालेन–हर्क–गोपाल त्रयीमध्ये जहाँ बालेन र हर्क खुलेरै नयाँ राजनीतिक विकल्प निर्माणको बहसमा जोडिँदै छन्। त्यहाँ हमाल भने ‘न त हो, न होइन’ भन्ने अस्पष्ट तर धेरै अर्थ बोकेको मौनतामा बसेका छन्।
स्वास्थ्य समस्याले थिचिएको शरीर, निरन्तर कामको दबाब र धनगढीलाई मोडल सिटी बनाउने अठोट, यिनै तीन विन्दुले अहिले हमालको राजनीतिक भविष्यलाई ‘पज’ मा राखिदिएको देखिन्छ।
विगत एक वर्षदेखि नसासम्बन्धी रोगका कारण स्वास्थ्य समस्या झेलिरहेका हमाल चिकित्सकको सुझाव विपरीत निरन्तर काममै लागिरहेका छन्।
उनले भने, ‘मेरो स्वास्थ्य अवस्था कमजोर छ, तर पनि आत्मबल बनाएर तपाईंहरूको बीचमा छु।’
स्वास्थ्य समस्या र लगातारको कार्यदबाबबीच पनि धनगढीलाई ‘मोडल सिटी’ बनाउने अठोट दोहोर्याइरहेका हमाल हाल राजनीतिक भविष्यबारे कुनै टिप्पणी गर्न चाहँदैनन्।
अहिलेलाई काममात्रै, अरू प्रश्न नगर्नुहोस् ? भन्ने उनका शब्दले अहिलेको प्राथमिकता स्पष्ट देखाउँछ। देश–विदेशमा रहेका शुभेच्छुकले उनी कुन राजनीतिक बाटोमा उभिने हुन् भन्ने उत्सुकता राखिरहेका बेला हमाल भने आफूलाई राजनीतिक बहसबाट अलग राख्दै बाँकी काम पूरा गर्न चाहने धारणा राख्छन्।
‘पहिलो कुरो त केही गर्न बाँच्नुपर्छ। म स्वस्थ भएर आएपछि विस्तृत रूपमा कुरा गरिन्छ,’ उनले भने।
चुनाव जितेर एक वर्षभित्र नै डुबानमुक्त अभियानलगायतका नमुना काम अघि बढाएर चर्चा कमाएका हमालले आफ्नो लोकप्रियता बढिरहेको बेला राजनीतिक निर्णयमा हतार नगर्न खोजेका देखिन्छ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया