एमालेका लागि सुदूरपश्चिम ‘रेड अलर्ट’ : रावलले बनाउलान् त शून्य ?
धनगढी : १६ वटा संघीय निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमबाट डा. भीबहादुर रावल नेकपामा जाँदा दुई सीटमा खुम्चिएको एमालेले अब कति प्रगति गर्ला ?
गत निर्वाचनमा एमालेले बैतडी र दार्चुला गरी दुई क्षेत्र जितेको थियो ।
सो चुनावमा तत्कालिन नेकपा (समाजवादी) ले बझाङ, अछाम १ र डोटी गरेर तीन क्षेत्र जित्यो भने नागरिक उन्मुक्तिले कैलालीका तीन क्षेत्र र कांग्रेसले सुदूरपश्चिमभर आठ क्षेत्र जितेको थियो ।
फागुन २१ मा चुनाव हुँदा सबैभन्दा बढी कांग्रेस र त्यसपछि प्रचण्ड नेतृत्वको नेकपालाई फाइदा हुने देखिन्छ। अबको चुनाव एमालेसँगै टुटफुटमा गएको नागरिक उन्मुक्ति पनि निल हुने देखिन्छ ।
कांग्रेसले ठीक उम्मेदवार दिन सके कैलालीका १, २, र ५ सहित कञ्चनपुरका ३ वटै जित्ने आकलन छ ।कैलाली ३ र ४ भने नेकपाले जित्ने अपेक्षा गरिएको छ ।
क्षेत्र नम्बर ३ का थारु समुदाय नेकपातिर लाग्ने र ४ मा दीर्घ सोडारीको मुद्धा टुंगिएर चुनाव लड्न पाए जित्ने अनुमान नेकपाको छ । कांग्रेसले बैतडी र दार्चुला सहजै जित्ने अनुमान छ ।
डा. रावल सक्रिय हुँदा केही एमाले नेकपातिर लाग्ने र त्यसको फाइदा कांग्रेसलाई हुने दावी गरिएको छ । अछाम क्षेत्र नम्बर १ मा डा. रावलले पक्कै जित्ने, २ मा निक्कै धेरै सम्भावना हुने विश्वास नेकपाको छ ।
डोटीमा कांग्रेसबाट प्रेम आलेले टिकट लिने सम्भावना रहेकोले कांग्रेसमा विद्रोह हुने र त्यसको फाइदा एमालेले लिने अड्कल पनि गरिन्छ ।
बाजुरामा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेकपातिर गएकाले नेकपा हौसिएको पाइन्छ भने कांग्रेसले एमालेलाई सहजै पछार्ने विश्वास राखेको छ ।
करिब चार वर्ष मन्त्री हुँदा एमालेभन्दा बढी कांग्रेस कार्यकर्तालाई बजेट दिएको आरोप लागेका शाहले कांग्रेसको मत काट्ने अनुमान पनि छ ।
त्यसो हुँदा एमाले जित्न सक्ने छ । तर शाहले एमाले छोडेकोले बूढीगंगा नगरपालिकाको चुनाव हार्ने सम्भावना छ । बझाङमा ऐन महरका काण्ड त छँदै छन् त्यसैमा एमालेका भोट नेकपाले काट्ने भएकोले कांग्रेसलाई जित्न सहज हुने चर्चा चलेको छ ।
यद्यपी अछाम १, कैलाली १, ३, ४ बाहेक अधिकांश क्षेत्रमा कांग्रेस र एमालेबीचमै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया