Hikmat Acharya
  • ६ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

संकटमा सुदूरपश्चिमका एफएम रेडियो


विकट र निरक्षरलाई समेत आफ्नै भाषामा सूचना र समाचार सुनाउने सुदूरपश्चिमका एफएम रेडियोलाई सञ्चालनमा कठिनाइ हुन थालेको छ । सीमित स्रोतमा सयौँको सङ्ख्यामा खुलेका सञ्चार माध्यम आश्रित भएपछि आर्थिक स्रोतको अभावमा सङ्कटमा पर्न थालेका हुन् ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार करिब २४ प्रतिशत जनसङ्ख्या अझै निरक्षर छन् । नेपाली, डोटेली, थारू, रानाथारू जस्ता मुख्य भाषा र जिल्लैपिच्छे भाषिका भएका सुदूरपश्चिममा स्थानीय भाषाका सञ्चार माध्यमको महत्व अझै छ । एउटा एफएम रेडियो स्थापना गर्दा कम्तीमा ३० लाख रुपियाँ लगानी भएको छ भने कम्तीमा छ जना पत्रकार कर्मचारीले रोजगारी पाइरहेका छन् ।

विकट गाउँबस्तीका नागरिकलाई स्थानीय आवाजमा सूचना सन्देश पु¥याइरहेका एफएम रेडियोलाई सरकारले सहयोग नगरेको गुनासो सामुदायिक रेडियो प्रसारक सङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले गरे। कतिपय पत्रकार रेडिया बन्द गरेर वैदेशिक रोजगारमा समेत जान थालेको उनले बताए।

पछिल्लो समय सञ्चार माध्यमको सङ्ख्या धेरै भएपछि बैतडीमा ‘डल्ली डल्ली एफएम झोपा झोपा अनलाइन’ भन्ने उखान चलेको सेभेन स्टार एफएम बैतडीका अध्यक्ष अमर भट्टराई बताउछन्। बैतडीको भाषामा डल्ली भनेको गाउँ र झोपा भनेको घर हुन्छ । बैतडीमा नौ वटा एफएम र २५ भन्दा बढी अनलाइन छन् ।

रेडियो जनप्रिय अछामका स्टेसन व्यवस्थापक तपेन्द्रबहादुर कुँवर बजारमा नआउने भित्रभित्रै छापेर प्रेस काउन्सिलमा वर्गीकरण गराउने पत्रिका सञ्चालकलाई बाह्रै महिना लोककल्याणकारी विज्ञापन दिने सरकारले दूरदराजमा सूचना पु¥याइरहेका रेडियोलाई नदिनु विभेदकारी नीति भएको बताए।

नेपाल पत्रकार महासङ्घका पूर्वाध्यक्ष धर्मेन्द्र झा रेडियोमा समयसापेक्ष सामग्री प्रसारण हुन छाडेको, आवश्यकताभन्दा बढी एफएम खुलेको, सामुदायिक रेडियोसमेत एक दुई जना व्यक्तिको नियन्त्रणमा रहेर सार्वजनिक हुन नसकेको र राजनीतिक दलका मुखपत्रका रूपमा काम गर्दा एफएम रेडियोलाई सङ्कट आएको बताए।

सुदूरपश्चिममा दर्ता भएका १२६ वटा एफएममध्ये हाल ७० वटा जति मात्रै प्रसारणमा छन् । चलेका एफएममा पनि गीत, विज्ञापन र काठमाडौँका नेटवर्कका समाचार मात्रै रिले गर्ने गरेका छन् ।

एउटै स्रोतमा धेरै मिडिया आश्रित हुन थालेपछि एफएमको आय घटेको र काम गर्ने जनशक्तिलाई पुग्दो आय हुन नसकेको सामुदायिक रेडियो टीकापुरका सहायक मेनेजर ईश्वर साउद बताउँछन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode