कञ्चनपुरमा धानखरिद नहुँदा कृषक चिन्तित
कञ्चनपुर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले धान खरिद बन्द गरेपछि किसानहरू अन्योलमा परेका छन्। मंसिर ३ गतेदेखि कोटा सकिएको भन्दै खरिद रोकिएको कार्यालयले जनाएको छ।
खाद्यले यस वर्ष पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो। कात्तिक १६ गतेदेखि सुरु भएको खरिद अभियान मंसिर २ गतेमै कोटा पूरा भएपछि रोकिएको शाखा प्रमुख महिकरण महराले बताए।
उनका अनुसार १९५ किसानबाट पाँच हजार क्विन्टल मोटा धान खरिद भइसकेको छ। तर बाँकी किसानको धान भने अलपत्र छ। “दुई सयभन्दा बढी किसानले नाम दर्ता गराइसकेका छन्, तर कोटा नबढे अर्को पर्खनु बाहेक विकल्प छैन,” महराले भने।
कृषक जयसिंह साउँदजस्ता किसानहरू दैनिक कार्यालय धाउँदै आएका छन्। १० कट्ठामा धान उत्पादन गरेका साउँद भन्छन्, “खाद्यले नकिन्दा बाहिरले सस्तो मूल्यमा किन्न खोज्छ, लगानी जोगिँदैन।”
सरकारले धानको समर्थन मूल्य प्रतिक्विन्टल ३,४६३।८१ रुपैयाँ तोकेको छ। तर स्थानीय मिल सञ्चालक र व्यापारीले करिब ८ सय रुपैयाँ कममा धान किन्दै आएको किसानहरूको गुनासो छ।
बेलडाँडीका किसान जयानन्द भट्टले दुई बिघामा उत्पादन भएको धान बजारमा बेच्दा २५ हजार रुपैयाँभन्दा बढी घाटा हुने बताउँदै खाद्यले नै खरिद गर्नुपर्ने माग गरे।
गत वर्ष महेन्द्रनगर शाखाले १५ हजार क्विन्टल धान खरिद गर्ने अनुमति पाएको थियो, तर ३,३०० क्विन्टल मात्र खरिद भएको प्रमुख महरा बताउँछन्। “गत वर्ष कोटा पूरा नहुँदा बाहिरबाट महँगोमा धान किन्नुपरेको थियो, अहिले पनि पाँच क्विन्टल चामल बिक्री हुन बाँकी छ,” उनले भने।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया