Hikmat Acharya
  • १३ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कैलालीका शेरबहादुर मृत्यु प्रकरण : अभियुक्तलाई उन्मुक्ति दिएको भन्दै पीडितले गुहारे इन्सेक


धनगढी : कैलालीको गोदावरी नगरपालिका–१०, खमौराका शेरबहादुर चौधरीको हत्याका मुख्य दोषीलाई जिल्ला अदालतले उन्मुक्ति दिएको भन्दै मृतकका परिवारले न्यायका लागि मानव अधिकारवादी सङ्घ संस्थालाई गुहारेका छन्।

घटनाको मुख्य दोषी डडेलधुराको गन्यापधुरा–२, चम्सालका विकास मल्ललाई अदालतले उन्मुक्ति दिएको भन्दै पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई गुहारेका हुन्।

न्यायका लागि पीडित पक्षले शुक्रबार आयोग र इन्सेकमा निवेदन दिएका छन् । मृतककी आमा पुतलीदेवी डङ्गौरा, भाइ रमेश र भाइबुहारी सलिना चौधरीले न्यायको खोजी गर्दै निवेदन दिएका हुन्।

गत असोज २३ गते राति २ बजे गोदावरी नगरपालिका–१० का लक्की मल्ल र डडेलधुराका विकासले घरको ढोका तोडफोड गरेर शेरबहादुरलाई घरबाट तानेर गोदावरीखोलामा लगी हत्या गरेको पीडितको आरोप छ।

घटनापश्चात् पीडित परिवारले घटनाको अनुसन्धान र दोषीलाई कानुन अनुसार सजायको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। प्रहरीले आरोपित दुवैलाई पक्राउ गरे पनि कात्तिक १८ गते विकासलाई अदालतले उन्मुक्ति दिएको परिवारको आरोप छ।

हत्या जस्तो जघन्य अपराधमा उन्मुक्ति दिएकाले आफूहरू अन्यायमा परेको मृतककी बुहारी सलिनाले बताए । अदालतले उन्मुक्ति दिएपछि विकास विदेश उडिसकेको पीडित परिवारले जनाएका छन्।

उनीहरूले सरोकारवाला निकायको उपस्थितिबिना प्रहरीले घटनाको मुचुल्का उठाएको, मुचुल्का उठाउने प्रक्रियामा लापर्बाही गरेको, पोस्टमार्टम रिपोर्टमासमेत गम्भीर लापर्बाही गरेको पीडित पक्षको आरोप छ।

उनीहरूले घटनाको सत्य, तथ्य र निष्पक्ष अनुसन्धान प्रक्रियामा पीडित पक्षको बयान नसमेटेको, पहुँचका आधारमा मुद्दालाई कमजोर बनाएर मुख्य दोषीलाई उन्मुक्ति दिएको जिकिर गरेका छन्।

न्यायको माग गर्दै पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिइसकेका छन्। अदालतले विकासलाई छोडेपछि उनीहरू सङ्घर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन्।

पीडित पक्षको निवेदन बुझ्दै आयोगको धनगढी कार्यालयका निमित्त प्रमुख झङ्कर रावलले घटना अदालतमा पुगिसकेकाले न्यायिक प्रक्रियाबाट नै अन्तिम टुङ्गो लाग्नुपर्ने बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode