Hikmat Acharya
  • २१ कात्तिक २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाम आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ८ लाख सहयोग गर्ने


अछाम: अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ हाटबजारमा शनिबार राति भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आगलागी पीडितका लागि तत्काल साँफेबगरमा नगरपालिकालाई ८ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई ८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए।

शनिबार राति साँफेबगर बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरूप तत्कालका लागि ८ लाख रुपैयाँ पालिकामार्फत् उपलब्ध गराउने निर्णय गरिएको हो ।

सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम आगलागी पीडितलाई वितरण गर्ने छ ।

यस्तै बैठकले २०८२ साल भाद्र महिनामा दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ स्थित टिङ्कर र छाङरु क्षेत्रमा आएको बाढी पहिरोबाट क्षतिग्रस्त भएका पुलहरूको तत्काल पुननिर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको मुख्य मन्त्री शाहले जानकारी दिए।

यस्तै कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका, बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधाराचाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमण हुने मानवीय क्षति, मानव बस्तीमा आक्रमण र खेतबारीमा हुने बालीनाली नोक्सानी न्यूनीकरण गर्नका लागि रोकथाम उपायहरू अवलम्बन गर्न र टर्चलाइट र लगायतका सुरक्षा उपकरण स्थानीयस्तरमा वितरणका लागि आवश्यक प्रबन्ध गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode