Hikmat Acharya
  • २१ कात्तिक २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

इप्रका चिसापानीमा पहिलोपटक महिला इन्स्पेक्टर खड्का

भन्छिन् : महिला इन्स्पेक्टर होइन, इन्स्पेक्टर भन्ने बुझ्नुहोला


कैलाली : इलाका प्रहरी कार्यालय चिसापानीको इतिहासमा पहिलोपटक महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रमुख नियुक्त भएकी छन्।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलबाट सरुवा भई आएकी इन्स्पेक्टर मीरा खड्काले कात्तिक ५ गतेदेखि औपचारिक कार्यभार सम्हालेकी हुन्।

कार्यालय प्रमुख बनेको केही दिनमै उनले मोहन्याल–७ स्थित ग्रिन सिटी होटलमा अपरेसन चलाएर जुवातास खेलिरहेका सात जनालाई पक्राउ गरिन् र १ लाख ७७ हजार रुपैयाँसहित नियन्त्रणमा लिइन्।

त्यसअघि उनले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको थियो। यी घटनाले उनको निडरता र सक्रियताकै परिचय दिएको स्थानीयको टिप्पणी छ।

‘चिसापानीमा महिला इन्स्पेक्टर होइन, इन्स्पेक्टर भन्ने बुझ्नुहोला,’ उनले भनिन्, ‘जेनजी आन्दोलनमा लुटिएका हतियार बरामद, जेलबाट भागेकाहरू पक्राउ र लागुऔषध नियन्त्रण मेरो प्राथमिकता हो।’

चिसापानीलाई ग्याङफाइट लगायतका घटनाका कारण संवेदनशील क्षेत्र मानिन्छ।

यसअघि यहाँ १३ जना पुरुष इन्स्पेक्टरले कमाण्ड सम्हालेका थिए। स्थानीयले पहिलो महिला प्रमुख पाउँदा गौरवको अनुभूति व्यक्त गरेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode