सुदूरपश्चिममा थपिए छ हजारभन्दा बढी मतदाता
धनगढी : सुदूरपश्चिम प्रदेशमा छ हजार २१२ नयाँ मतदाता थपिएका छन् ।
फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य भइरहेको छ । असोज १० देखि कात्तिक १७ सम्म यस प्रदेशमा चार हजार ८३ पुरुष, दुई हजार १२७ महिला र दुई अन्य गरी छ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा एक हजार १९५ पुरुष र ६५३ महिला गरी एक हजार ८४८ नयाँ मतदाता थपिएका छन् । यस्तै कञ्चनपुरमा पुरुष एक हजार ५३ र महिला ५४० गरी एक हजार ५९३ नयाँ मतदाता थपिएको निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
यसै गरी डडेलधुरामा पुरुष १२६ र महिला ६५ गरी १९१, डोटीमा पुरुष १७० र महिला ७५ गरी १९१ नयाँ मतदाता थपिएका छन् । बैतडीमा पुरुष २९३ र महिला १५५ गरी ४४८, अछाममा पुरुष ४१४ र महिला २११ गरी ६२५ नयाँ मतदाता थपिएका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यस्तै बझाङमा पुरुष ३६३ महिला १७९ गरी ५४२ जना, बाजुरामा पुरुष २१९, महिला १२२ र अन्य दुई गरी ३४३ नयाँ मतदाता थपिएका जनाइएको छ ।
जेनजी आन्दोलनपछि गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकेको छ । जेनजी बलिदानपछि हुन लागेको आमनिर्वाचनका लागि जेनजी मतदाताले पनि मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन् । मतदाता नामावली दर्ता गराउनका लागि उत्साहजनक रूपमा मान्छेहरू आइरहेको निमित्त प्रमुख जोशीले जानकारी दिए ।
“मतदाता नामावली दर्ता गराउनेको भिड अझै कायमै छ,” उनले भने, “हामी बेलुका ६ बजेसम्म अफिस खोल्ने गरेका छौँ ।” कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य हुने छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया