Hikmat Acharya
  • १९ कात्तिक २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

डीआईजी रानाको सक्रियता : सुदूरपश्चिम प्रहरीमा अनुशासन र जनसेवामा जोड


धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर राना पछिल्ला दिनमा प्रदेशभित्रका प्रहरी कार्यालय र तालिम केन्द्रहरूको निरन्तर अनुगमनमा व्यस्त छन्।

हालै सरुवा भएर प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका रानाले सुदूरपश्चिम प्रहरी संगठनभित्र कार्यक्षमता, अनुशासन र जनमैत्री सेवाको प्रभावकारिता बढाउने अभियान थालेका छन्।

अछाम, बाजुरा र डोटी जिल्लाका प्रहरी कार्यालयसँगै उनले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको समेत विस्तृत निरीक्षण गरेका छन्।

दिपायलमा सोमबार गरिएको अनुगमनका क्रममा उनले कोत गारद, ब्यारेक, मेस, शैलुन, होजियारी र चमेना क्यान्टिनजस्ता संरचनाको अवस्था नियाल्दै सुधारका लागि निर्देशन दिएका थिए।

डीआईजी रानाले तालिमरत प्रहरी र प्रशिक्षार्थीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको सुझाव सुने, “संगठनको बल अनुशासन र आचरणमा निर्भर हुन्छ, प्रहरी नागरिकको विश्वास जित्ने माध्यम बन्नुपर्छ,” उनले भने।

आज (सोमबार) उनले जिल्ला प्रहरी कार्यालय डोटीको पनि निरीक्षण गरे।

कार्यालय भवन, ब्यारेक र हिरासत कक्षको अवस्थाबारे जानकारी लिएर उनले प्रहरी युनिट प्रमुखहरूलाई सीमित स्रोत र जनशक्तिको अधिकतम उपयोग गर्दै जनमैत्री सेवा प्रवाह गर्न निर्देशन दिए।

यसअघि आइतबार उनले अछाम र बाजुरा जिल्लाको निरीक्षण पूरा गरेका थिए।

दुर्गम क्षेत्रसम्म पुगेका रानाले स्थानीय समुदायसँग सहकार्य, अपराध नियन्त्रण र लागुऔषध ओसारपसार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरीलाई आह्वान गरे।

‘प्रहरीको व्यवहार संयमित र सन्तुलित हुनुपर्छ,’ उनले जोड दिए, ‘नागरिकसँगको सहकार्य र सद्भावकै माध्यमबाट शान्ति–सुरक्षाको वातावरण मजबुत बनाउन सकिन्छ।’

डीआईजी रानाले सबै युनिटहरूमा मानव अधिकार र मौलिक हकको सम्मान गर्दै निष्पक्ष, स्वच्छ र पीडितमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

उनले परिवर्तनशील सुरक्षापरिस्थितिलाई आत्मसात् गर्दै पेशागत निष्ठा र उच्च अनुशासनका माध्यमबाट प्रहरी सेवाको गुणस्तर उन्नत बनाउने प्रतिवद्धता व्यक्त गरे।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode