महाकाली कोरिडोर कालोपत्रे गरिँदै
दार्चुला : महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) योजना अन्तर्गत पर्ने दार्चुला जिल्लामा ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको छ ।
यहाँको कालोपत्रे गरिने सडकखण्डलाई तीन प्याकेजमा विभाजन गरेर कालोपत्रे गर्नुपूर्व गरिने काम सुरु गरिएको हो ।
योजनाका सूचना अधिकारी एवं इन्जिनियर रामचन्द्र जैसीका अनुसार दार्चुला जिल्लामा पर्ने सलेतीदेखि बेतखण्डको १२.३ किलोमिटर र खलङ्गादेखि सुन्सेरा खण्डको १८.५ किलोमिटर सडकखण्डमा ब्याक कटिङ, भुइँ तह, सहायक तह र मुख्य आधार तह निर्माण गर्ने कार्य सुरु गरिएको छ ।
४९ करोड १० लाख १३ हजार ७१३ रुपियाँमा २०७९ साल असार २० गते निर्माण कम्पनीसँग सम्झौता गरिएको हो । सो सडकको यस वर्षदेखि कालोपत्रेको काम सुरु भएको उनले बताए ।
सलेतीदेखि बेतसम्मको सडक कालोपत्रे गर्ने काम राजेन्द्र निर्माण सेवाले गरिरहेको छ भने खलङ्गादेखि चल्लेगडा खण्ड र चल्लेगडादेखि सुन्सेरासम्मको सडकखण्ड कालोपत्रे गर्ने काम सिएबी ग्वाल्लेक जेभीले गरिरहेको उनले जानकारी दिए।
सल्लेगडा–सुन्सेरा सडकखण्ड कालोपत्रे गर्नका लागि ४२ करोड ६८ लाख ४० हजार ७३३ रुपियाँको ठेक्का टेन्डर भएको उनले बताए ।
सलेती–बेत सडकखण्डमा ५३ प्रतिशत, खलङ्गा–चल्लेगडा सडकखण्डमा ५६ प्रतिशत र चल्लेगडा–सुन्सेरा सडकखण्डमा २५ प्रतिशत भौतिक प्रगति भएको पनि उनले बताए।
चालु आर्थिक वर्ष २०८२/८३ मा १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको तथा बजेट न्युन रहेको उनले बताए।
कार्यालयलाई यस वर्ष २२ करोड ९७ लाख रुपियाँ विकास बजेट प्राप्त भएको बताइएको छ । कार्यालयलाई एक अर्ब ४९ करोड ठेक्का दायित्व रहेको उनले बताए।
कोरिडोरले कञ्चनपुरको ब्रह्मदेवदेखिमहाकाली किनार हुँदै डडेलधुराको परशुराम नगरपालिका, भागेश्वर गाउँपालिका, बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र दार्चुलाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका, दुहुँ गाउँपालिका हुँदै ब्यास गाउँपालिकाको टिङ्कर नाकासम्म छोएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया