आइटी क्षेत्रमा पिछडिएको मेरो देश !
सूचना प्रविधि (आइटी) को युगमा आज विश्वले अकल्पनीय फड्को मारेको छ । कृत्रिम बुद्धिमत्ता (AI), मेसिन लर्निङ, डाटा एनालिटिक्स, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा जस्ता क्षेत्रहरूले मानव सभ्यतालाई एक नयाँ युगमा पुर्याएका छन् । तर, दुखद कुरा के छ भने नेपाल अझै पनि यस्ता प्रविधिमार्फत् विकास र समृद्धिको यात्रामा कदम मिलाएर अघि बढ्न सकेको छैन ।
पूर्वाधारको कमी : गाउँ अझै अन्धकारमा
म एक ब्याचलर तहमा अध्ययनरत आइटी विद्यार्थी हुँ । मेरो स्थायी ठेगाना सुदूरपश्चिमको जिल्ला अछाम हो । त्यहाँको वास्तविकता के हो भने, इन्टरनेटजस्तो आधारभूत सेवासमेत नियमित रूपमा उपलब्ध छैन । कहिले नेटवर्क हराउँछ, कहिले घण्टौँसम्म सम्पर्कविहीन हुनुपर्छ । यति मात्र हैन, विद्युत आपूर्ति पनि अनियमित छ । गाउमा विधुत पुगेको छैन नेपाल टेलिकमको मनमानी छ नेटवर्क सुधार मा केहि मतलब राखदैनन फोन गर्न सकिदैन कहिलेकाहि आपतकालिन अवस्थामा
अछाम मात्र होइन, देशका अन्य ग्रामीण तथा अर्धशहरी भेगमा पूर्वाधारको कमी अत्यन्त गम्भीर छ । न त शैक्षिक संस्थाहरूमा गुणस्तरीय सूचना प्रविधिको पहुँच छ, न त स्थानीय सरकारमा टेक्नोलोजीप्रति जागरूकता छ । शहरमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूले विभिन्न अनलाइन कोर्स, ट्युटोरियल, वेबिनार आदि हेरेर आफूलाई अपडेट राख्न सक्छन् । तर ग्रामीण क्षेत्रमा यस्तो सम्भावना रहँदैन । संसारका विकसित देशहरूमा १२ वर्षे बालकले पनि रोबोट बनाउँछ । तर हाम्रो देशमा ग्राजुएट तहका विद्यार्थीहरूले समेत अझै MS Office राम्रोसँग सिकेका हुँदैनन् ।
योग्यता छैन, पहुँच छ भने जेपनि हुने
कुनैपनि सरकारी निकायमा हेर्दा प्राविधिक दक्षता भन्दा सम्बन्ध प्राथमिकता पाउने गरेको पाइन्छ । आइटी अफिसरका लागि विज्ञापन खुल्छ, तर छनोट प्रक्रिया पारदर्शी हुँदैन । स्थानीय तहदेखि संघसम्मका सरकारहरूले सूचना प्रविधिलाई आवश्यकताको विषय होइन, विलासिताको रूपमा लिन्छन् ।
नेपाल सरकारले डिजिटल नेपाल बनाउने नारा लगाएको धेरै भइसक्यो । तर त्यो नारा केवल कागजमा सीमित रह्यो । अधिकांश सरकारी कार्यालयमा आज पनि फाइल उठाउने काम म्यानुअल छ, इमेल पठाउन पनि अर्को डेस्कमा जानुपर्ने अवस्था छ ।
विदेश पलायन, एक विकल्प होइन – बाध्यता
मेरो वरिपरिका साथीहरूले पनि धेरैपटक गुनासो गरे यहाँ केही हुँदैन बाहिर जानु नै राम्रो । उनीहरूमध्ये धेरै जना अहिले क्यानडा, अष्ट्रेलिया, अमेरिका, युकेको बाटो समातिसकेका छन् । उनीहरूका सग ज्ञान थियो, सिप थियो, तर नेपालमा त्यसको सम्मान र प्रयोग गर्ने अवसर थिएन ।
यो अवस्था आइटी क्षेत्रमा मात्रै होइन, हरेक सिपयुक्त जनशक्तिको लागि पीडादायी छ । देशले युवाशक्तिमा लगानी गर्छ, तर त्यसको उपयोगिता महसुस गर्न सक्दैन । यसैले उनीहरू देश छोड्छन्।
अब के गर्ने ? – सम्भावना छ ।
देशमा दक्ष जनशक्ति तयार छन् । प्रविधिमा सक्षम युवा छन्, र तिनीहरूले केही गर्न सक्छन् । आवश्यकता छ केवल अवसरको, पहिचानको, र सही नीतिको ।
१. सुदुर क्षेत्रका विद्यालय, कलेज र अफिसहरूमा इन्टरनेट र कम्प्युटरको आधारभूत पहुँच पुर्याइनुपर्छ
२. आइटी विद्यार्थी र व्यवसायीका लागि स्टार्टअप अनुदान र सुविधा दिनुपर्छ
३. सरकारी सेवामा टेक्नोलोजीलाई पहिलो प्राथमिकतामा राखेर इ-गभर्नेन्सको विकास गर्नुपर्छ
४. कम्प्युटर विज्ञान पढेकालाई प्रोजेक्ट आधारित रोजगारीमा समेटेर देशमै अवसर सिर्जना गर्न सकिन्छ
देश केवल नाराले बिक्दैन, देश कर्मले बिक्छ । प्रविधिलाई पछ्याएर अघि बढ्न सके मात्र हामीले डिजिटल नेपाल, समृद्ध नेपाल भन्ने नारालाई सार्थक बनाउन सक्छौं ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सूचना प्रविधि, सूचना/प्रविधि










प्रतिक्रिया