Hikmat Acharya
  • ५ कात्तिक २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बाकसमा विपिन आउँदा पुष्पाले उखेलिदिइन् सयपत्री फूल


महेन्द्रनगर :  सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा थियो ।

,दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै हत्या भयो ।

चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि घर आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ ।

विपिनकी आमा पद्मा र बहिनी पुष्पा उनको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुगे, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेन ।

केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन ।

बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेकी जोशी परिवारको भनाइ छ ।

‘बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुनेछ भन्ने आशामा थिइन्,’ परिवारका सदस्य किशोर जोशीले भने, ‘लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।’ दुई वर्षदेखि विपिन आउने प्रतिक्षामा रहेको जोशी परिवार सम्हालिन सकेका छैनन् ।

सोमबार दिउँसो काठमाडौं ल्याइपुर्‍याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट बेलुकी अबेर कैलालीको धनगढी विमानस्थल पुर्‍याइएको थियो । धनगढीबाट उनको शव कञ्चनपुरस्थित घरमा ल्याइएको थियो ।

विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । विपिनको अन्तिम दाहसंस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिने छ ।

विपिनको टाउकोमा गोली लागेर मृत्यु इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ ।

इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए ।

उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।

बहिनी पुष्पाको भाइटीका लगाउने सपना अधुरै दुई वर्षदेखि बहिनी पुष्पाको एउटै आग्रह हुन्थ्यो यसपटकको भाइटीका लगाउन पाउँ । तर त्यो सपना पूरा भने हुन सकेन ।

दुई वर्षपछि तिहारकै बेला दाइको शव घरमा पुगेपछि उनी सम्हालिन सकेकी छैनन् । यसपटक पनि तिहारमा भाइटीका लगाउने ठूलो आशा बोकेर उनी आमासँगै दाइको रिहाइका लागि इजरायल हुँदै अमेरिकासम्म पुगेर हरसम्भव प्रयास गरे ।

विडम्बना बहिनी पुष्पा र आमा पद्मा अमेरिकामै रहेकाबेला विपिन अस्ताएको दु:खद् खबर सुन्नपर्‍यो ।

हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको शव दुई वर्षपछि सोमबार राति लक्ष्मीपूजाकैै दिन कफिनमा घरमा पुग्दा गाउँमै सन्नाटा छाएको छ ।

‘भाइ फर्किने ठूलो आशा थियो,’ किशोर जोशीले भने, ‘तर सबै सपनामाथि बज्रपात भएको छ । बोल्ने र भन्ने शब्द नै रहेन ।’ रासस


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode