बाजुराको बुढीगंगाले १२० करार, ज्यालादारी र अस्थायी कर्मचारी हटायो

बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकाले एक सय भन्दा धेरै करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई हटाएको छ।
४९ औँ कार्यपालिका बैठकले नगरपालिकामा झन्डै १२० अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको नगर प्रमुख रामबहादुर बानियाँले बताए।
सुदूरपश्चिम प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन बनाइसकेको छ।
उक्त ऐनमा स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्न तथा स्थानीय सेवा प्रभावकारी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने विषय उल्लेख गरिएको छ।
सोही ऐनमा रहेर आफूहरूले अस्थायी कर्मचारीहरूलाई बिदा गरेको नगर प्रमुख बानियाले बताए। ‘प्रदेश सरकारको ऐन अनुसार हामीले कर्मचारीहरूलाई बिदा गरेका हौँ ’ उनले भने, ‘प्रदेश सरकारको ऐन कार्यान्वयन गर्ने हामी सुदूरपश्चिम प्रदेशमा पहिलो स्थानीय तह हौँ।’
अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई बिदा गरेको नगरपालिकाले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर नयाँ कर्मचारीको व्यवस्थापन गर्ने तयारी रहेको छ।
पालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा कति कर्मचारी आवश्यक छन् भन्नेबारे विज्ञबाट ओएनएम गराउने र सोही अनुसार स्थायी कर्मचारीको लागि पहल गर्ने तयारी गरिएको हो।
‘सुशासन र पारदर्शी काम होस् भन्ने हाम्रो उद्देश्य हो। प्रदेश सरकारको ऐन अनुसार ओएनएम गरेर नयाँ कर्मचारीहरूको व्यवस्था गर्ने हाम्रो तयारी छ ’ उनले भने।
केही समय अघि विकास कचहरी आयोजना गरेर स्थानीय स्तरबाटै स्थानीय तहलाई विकासको गति दिन सकिन्छ भनेर सन्देश दिएको नगरपालिकाले यसपटक अस्थायी करार र ज्यालादारी कर्मचारी हटाएर ठुलो आर्थिक भार पनि कम गरेको छ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया