Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कैलालीका शेरबहादुरको हत्या, डडेल्धुराका मल्ल दाजुभाइ पक्राउ


धनगढी : कैलालीको गोदावरी नगरपालिका–१० खमौरामा असोज २३ गते राति घरमा धम्की पाएका ३५ वर्षीय शेरबहादुर चौधरी असोज २४ गते घर नजिकै खोलामा मृत फेला परेका छन्।

छिमेकी लोकेन्द्र (लक्की) मल्ल र उनका सहोदर भाइ  विकास मल्लले राति २ बजे घरको ढोकामा हान्ने धम्की दिएका थिए। डरका कारण चौधरीले पछाडिको ढोकाबाट भागेका थिए।

परिवारका अनुसार लक्की र विकास मल्लले चौधरीलाई नियन्त्रणमा लिएर कुटपिट गरेको आशंका छ। मल्ल डडेल्धुराको गन्यापधुराका बासिन्दा हुन्।

पोस्टमार्टम रिपोर्ट अनुसार मृतकको घाँटी, हात र खुट्टा भाँचिएको र शरीरमा कुटपिटका स्पष्ट निशान छन्।

मृतकका बुहारी सलिनाका अनुसार लक्की र विकास मल्लले चौधरीको भाइ रमेशलाई अत्तरियामा लगेर कुटपिट गरेका थिए।

मृतक चौधरी चुलुराम र पुतली डगौराका जेठो सन्तान थिए। उनका सात वर्षीय छोरी छन् र श्रीमतीसँग डिभोर्स भइसकेको छ। परिवारले मृतक गुमाउँदा ठूलो आर्थिक र भावनात्मक क्षति भोगिरहेको छ।

घटनापछि चौधरी परिवारले मल्ल दाजुभाइविरुद्ध किटानी जाहेरी दिएका छन्। परिवारले लक्की मल्लको पहुँचका कारण न्याय नपाउने डर व्यक्त गर्दै निष्पक्ष अनुसन्धान र सुरक्षाको माग गरेका छन्।

प्रहरीले घटनामा संलग्न लक्की मल्ल र विकास मल्ललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode