सुदूरपश्चिममा हिउँदे बालीका लागि वर्षा वरदान

डडेल्धुरा : देशभरबाट मनसुन बाहिरिएपछि डडेलधुरा सदरमुकामलगायत आसपासका क्षेत्रमा वर्षा सुरु भएको छ । सोमबार दिउँसोदेखि छिटफुट वर्षा सुरु भए पनि राति ठुलो वर्षा भएको छ ।
यो वर्षा किसानका लागि वरदान साबित भएको छ । यो वर्षाका कारण हिउँदे बाली लगाउनका लागि खनजोत गर्न सजिलो भएको छ ।
मङ्गलबार पनि वर्षा जारी रहेको जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेलधुराका प्रमुख श्याम सुनारले बताए।
उनका अनुसार बुधबार दिउँसोदेखि बिहीबार दिउँसोसम्म डडेलधुरा जिल्ला सदरमुकामको खलङ्गामा ४५ मिलिमिटर वर्षा भएको छ ।
निरन्तर जस्तै वर्षा भइरहेकाले शुक्रबार दिउँसोसम्म १५० मिलिमिटरसम्म वर्षा हुन सक्ने उनले बताए । हाल पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको र शुक्रबार मध्याह्न १२:०० बजेसम्म यसको प्रभाव रहन सक्ने उनले बताए।
सुदूरपश्चिम प्रदेशको बाजुरा र दार्चुला जिल्लाबाट पश्चिमी वायुको प्रभाव बाहिरिने अनुमान गरिएको उनको भनाइ छ ।
असोज महिनाको पहिलो सातादेखि नै ठुलो वर्षा नभएको डडेलधुरामा बर्खे खेतीपाती भित्र्याउन सहज भएको थियो ।
कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार आलु लगाउने समयमा ठुलो वर्षा भए कुहिने समस्या हुन्छ ।
पहिलो सातापछि वर्षा नहुँदा आलु लगाउनुका साथै धानबाली भित्र्याउन किसानलाई सहज भएको उनले बताए। तर सबै किसानले आलु लगाई नसकेको उनले जानकारी दिए।
डडेलधुरामा असोज महिनाभरि र कात्तिक पहिलो सातासम्म आलु खेती लगाइने गरिन्छ । अहिले भइरहेको वर्षाले आलु लगाउन केही ढिलाइ हुने उनले बताए।
किसानले पूर्ण रूपमा धानबाली पनि भित्र्याई नसकेको उनले बताए । अहिले भइरहेको वर्षाले पाकेको धानलगायत दलहन बाली भित्र्याउन र आलु खेती गर्न ढिलाइ भएपछि हिउँदे बाली लगाउन राहत भएको उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको एक लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ ।
कृषि विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी केशव पाण्डेयका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिन तीन लाख ५९ हजार ९११ हेक्टर क्षेत्रफल रहेको छ ।
डडेलधुरामा छ हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको अनुमान छ ।
यो क्षेत्रफलमध्ये २० प्रतिशत अर्थात् एक हजार २२४ हेक्टरमा छरुवा घैया धान लगाइन्छ ।
करिब दुई सातासम्म पानी नपर्दा यहाँको जमिन सुक्खा भइसकेको थियो । प्रायः पाखो जमिन भएकाले हिउँदे बालीलगायत खनजोत गर्न समस्या भइसकेको उनले बताए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया