Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

जापान जान हिँडेकी थिइन् डोटीकी सरस्वती, काठमाडौं नपुग्दै अस्ताइन


डोटी : जापान जाने योजनासहित दशैंको टिका सकेर हतारहतार काठमाडौँ हिँडेकी डोटीकी सरस्वती खड्का बाटोमै अस्ताइन्।

डोटीको दिपायल सिलगढी नगरपालिका १ की १८ बर्सिया सरस्वती खड्काको शनिवार कपिलवस्तुमा भएको बस दुर्घटनामा परी मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जापानको भिसा आइसकेकोले सरस्वती शुक्रवार बिहानै दिपायलबाट धनगढीका हिँडेकी थिइन् ।

उनी सोही दिन धनगढीबाट रात्रि बस चढेर काठमाडौँका लागि हिँडेकी थिइन् । उनी सोमबार जापानका लागि उड्ने तयारीमा रहेको उनका आफन्तहरूले जानकारी दिएका छन् ।

धनगढीबाट काठमाडौं जाँदै गरेको ना.८ ख ५७०३ नम्बरको बस शनिवार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटना भएको थियो ।

कपिलवस्तु प्रहरी प्रमुख सन्तोष आचार्यका अनुसार दुर्घटनामा परी गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

सो दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

बिहानको समयमा तीव्र गतिको गाडी मोडमा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode