एसिया कपको फाइनलमा पहिलो पटक भारत र पाकिस्तान भिड्ने

एजेन्सी : एसिया कपको इतिहासमा पहिलो पटक दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान उपाधिका लागि भिड्ने भएका छन्।
युएईमा जारी एसीसी टी-२० एसिया कपको सुपर फोरमा शीर्ष दुईमा रहँदै दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन्। बिहीबार भएको निर्णायक खेलमा पाकिस्तानले बंगलादेशलाई ११ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
उता, भारत भने आफ्नो अन्तिम सुपर फोर खेलमा शुक्रबार श्रीलंकासँग खेल्नुअघि नै लगातार दुई जितसहित फाइनलमा पुगिसकेको थियो। सन् १९८४ देखि सुरु भएको एसिया कपको इतिहासमा यसअघिका १६ संस्करणमा भारत र पाकिस्तानबीच फाइनलमा भेट भएको थिएन।
भारत प्रतियोगिताको सर्वाधिक सफल टोली हो, जसले ८ पटक (१९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३) उपाधि जितेको छ। पाकिस्तानले भने सन् २००० र २०१२ मा गरी दुई पटक उपाधि उचालेको थियो।
यस संस्करणको समूह चरण र सुपर फोरका दुवै खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो। आइतबार दुबई क्रिकेट रंगशालामा हुने फाइनल खेललाई त्यसैले पनि निकै महत्त्वका साथ हेरिएको छ।
केही महिनाअघि भारतको जम्मु-कश्मीरमा भएको आतंकवादी हमलापछि दुई देशबीच तनाव चुलिएको थियो।
त्यसयता खेल मैदानमा समेत त्यसको असर देखिएको छ, जहाँ खेलाडीहरूले एकअर्कासँग हात मिलाउनसमेत आनाकानी गरेका छन्। यही पृष्ठभूमिमा हुन लागेको फाइनल खेललाई विश्वभरका क्रिकेट समर्थकले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया