रास्वपाको वेबसाइट ह्याक, रवि बारे के लेख्यो ?

धनगढी : ‘जेन्जी राइजिङ नेपाल’ नामको एक ह्याकर समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ह्याक गरेको छ।
जेन्जी आन्दोलनका क्रममा रास्वपाले नख्खु कारागारबाट सभापति रवि लामिछानेलाई निकालेको बदलामा उक्त समूहले रास्वपाको वेबसाइट ह्याक गरेको हो।
ह्याक केही समय अघि भएपनि खबर अहिले बाहिरीएको हो। वेबसाइट ह्याक गरेर उक्त समूहले लामिछानेलाई इंगित गर्दै ‘न क्षमा दिने, न बिर्सने’ लेखेको छ।
सन्देशमा रास्वपालाई ‘पुरानै युगलाई भविष्य ठान्ने राजनीतिक तमासा’ भन्दै आलोचना गरिएको छ। पार्टीको मुख्य काम ‘आफ्नो नेतालाई जेल पर्नबाट जोगाउनु’ रहेको आरोप लगाइएको छ।
सन्देशमा गृहमन्त्री लामिछानेप्रति लक्षित गर्दै भनिएको छ, ‘रवि लामिछाने दोहोरो नागरिकता भएका उही व्यक्ति जो हालै जेन्जी को विरोध प्रदर्शनको सहारामा कानुनी कारबाहीबाट उम्किए।’
ह्याकरले लामिछानेमाथि ‘शङ्कास्पद आर्थिक लेनदेन’ लुकाउन पार्टीको ऊर्जा खर्च भइरहेको आरोप समेत लगाएको छ। ‘हे नेपाल, भेट नयाँ राजनीतिलाई जहाँ प्रपञ्च उही पुरानो छ, बस आवरण चम्किलो छ। जेनजीले यो सब देखिरहेको छ। हामी न क्षमा दिन्छौँ, न बिर्सन्छौँ। हाम्रो आगमनको अपेक्षा गर।’
ह्याकर समूहले भ्रष्टाचार न्यूनीकरणका लागि सहयोग गर्न आग्रह गर्दै वेबसाइटमा यूएसडीटी, बीटीसी र इथेरियम जस्ता क्रिप्टोकरेन्सीको एड्रेस समेत राखेको छ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया