लगानी सम्मेलन अन्योलमा, सुदूरपश्चिम सरकारको तयारी खेर

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते आयोजना गर्ने भनिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन अन्योलमा परेको छ।
जेनजी आन्दोलनका क्रममा प्रदेशअन्तर्गतका भौतिक संरचना ध्वस्त पारिएपछि सम्मेलन आयोजना गर्ने अवस्था नरहेको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले जानकारी दिए।
उनले भने, ‘पछिल्लो परिस्थितिका कारण सम्मेलन गर्ने सम्भावना छैन, यस्तो विध्वंस देखिसकेपछि विदेशीहरू लगानी गर्न आउँदैनन्।’
प्रदेश सरकारले तीन वर्षदेखि तयारी गर्दै आएको सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानी भित्र्याउने लक्ष्य राखिएको थियो। गत जेठमा प्रिसम्मेलनसमेत सम्पन्न गरिएको थियो भने नौ वटा प्राथमिक क्षेत्र पहिचान गर्दै केही कानुन संशोधन र नयाँ कानुन निर्माणका गृहकार्य अघि बढाइएको थियो।
तर हालको परिस्थिति कारण ती सबै तयारी औचित्यहीन बन्ने अवस्था आएको संयोजक डा. ताराप्रसाद जोशीले बताए। उनले भने, ‘मुलुकको यो अवस्था देखिसकेपछि विदेशी लगानीकर्ताहरू आउलान् भन्ने लाग्दैन।’
आन्दोलनकारीको आगजनीबाट प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालयहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
सभामुख भीमबहादुर भण्डारीका अनुसार, प्रदेश सभा ९० प्रतिशत ध्वस्त भएकाले पुनर्निर्माणबिना बैठक सञ्चालन सम्भव छैन। यसले कानुन निर्माण वा संशोधन प्रक्रियासमेत अवरुद्ध भएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया