प्रधानमन्त्रीलाई भेटेपछि विपिन जोशीकी बहिनी भन्छिन् : आमा नै भएकाले छोराछोरीको पीडा बुझ्नुहोला

धनगढी : प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको परिवारले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनको रिहाइको लागि पहल गर्न आग्रह गरेका छन्।
आइतबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्दै विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले निरन्तर पहल गर्न अनुरोध गरेका हुन्।
यसअघिको सरकारले आश्वासन मात्र दिएको र कुनै नतिजा नआएकाले अबको सरकारप्रति ठुलो आशा रहेको आमा पद्माले बताइन्। विपिनकी बहिनी पुष्पाले अहिले प्रधानमन्त्री पदमा पनि एक महिला (आमा) नै भएकाले आफ्ना छोराछोरीको पीडा बुझ्ने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले विपिन जोशीको रिहाइको लागि पहल गर्ने आश्वासन दिएको पुष्पाले जानकारी दिइन्। विपिन जोशीलाई सकुशल नेपाल फर्काउन कुनै एक व्यक्ति वा संस्थाले मात्र नभई सबै मिलेर पहल गर्नुपर्ने उनको भनाइ थियो।
यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिनसहित ४८ इजरायली बन्धकहरूको तस्बिर सार्वजनिक गरेको थियो, जसले परिवारमा थप चिन्ता बढाएको छ।
क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया