व्यापक दवाबपछि झुक्यो बान्नीगढी सरकार : असोज २५ गते सार्वजनिक सुनुवाई

अछाम । करिब दुई वर्षदेखि सार्वजनिक सुनुवाइ नगरेको भन्दै आलोचित बान्नीगढी जयगढ गाउँपालिकाले आगामी असोज २५ गते सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।
स्थानीय तह सञ्चालन नियमावली अनुसार गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा कम्तीमा दुई पटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान भए पनि बान्नीगढी जयगढ गाउँपालिकाले बेवास्ता गर्दै आएको थियो । यसबीचमा नागरिकस्तरबाट बारम्बार दबाब र आलोचना हुँदै आएको थियो ।
गाउँपालिकाले हिजो असोज ३ गते सम्पन्न कार्यपालिका बैठकमार्फत असोज २५ गते सार्वजनिक सुनुवाइ गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त रावलले जानकारी दिए । उनका अनुसार सार्वजनिक सुनुवाइमा गाउँपालिकाले सार्वजनिक नगरिएका वर्षहरुमा गरेका काम, उपलब्धि, चुनौती र आगामी योजना सार्वजनिक गरिनेछ ।
नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवालालाई सहभागी गराई पारदर्शिता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाइको महत्व रहेको भए पनि पछिल्ला वर्ष गाउँपालिकाले निरन्तर टार्दै आएकोमा स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका थिए ।
यसपटकको सार्वजनिक सुनुवाइमा सेवा प्रवाहको अवस्था, बजेटको खर्च, विकास निर्माणको स्थिति, सामाजिक सुरक्षासम्बन्धी कार्यान्वयन लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया