Hikmat Acharya
  • १ असोज २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

अत्तरिया डीडीसी कार्यालयको ताला खुल्यो


काठमाडौँ : कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) को प्रशासन कार्यालयमा करिब चार महिनादेखि लगाइएको ताला खुलेको छ। कार्यालय धनगढी सार्ने निर्णयको विरोधमा स्थानीयले लगाएको ताला मंगलबार सर्वपक्षीय सहमतिमा खोलिएको हो।

ताला खुलेलगत्तै डीडीसीले किसानको रोकिएको भुक्तानी बुधबारदेखि सुरु गर्ने जनाएको छ। डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराईका अनुसार पहिलो चरणमा माघ महिनाको डेढ करोड रुपैयाँ तत्काल भुक्तानी गरिनेछ।

गत माघदेखि किसानले दुधको भुक्तानी पाउन सकेका थिएनन्। हालसम्म किसानको करिब साढे ६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र त्यसलाई क्रमशः चुक्ता गर्दै जाने भट्टराईले बताए।

डीडीसीको केन्द्रीय कार्यालयले तत्कालका लागि अत्तरियाबाटै सम्पूर्ण कामकारबाही सञ्चालन गर्ने गरी पत्र पठाएपछि ताला खोल्न सहमति जुटेको हो।

मंगलबार बिहान बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले ताला खोल्ने निर्णय गरेको थियो। बैठकमा दसैँभित्र किसानको सम्पूर्ण भुक्तानी गरिसक्ने र गोदावरी नगरपालिकाले डीडीसीको दिगो व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने सहमतिसमेत भएको छ।

स्थानीयले डीडीसी कार्यालय धनगढी सार्न नहुने माग राख्दै जेठ ८ गतेदेखि तालाबन्दी गरेका थिए। तालाबन्दीकाबिच पनि प्रशासनिक कार्यालय भने धनगढी सारिएको थियो । डीडीसीले हाल कैलाली, कञ्चनपुर र डडेल्धुराका ५९ वटा सहकारी, समूह र कृषि फार्मबाट दैनिक २५ सयदेखि ३ हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode