Hikmat Acharya
  • ३० भदौ २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

पुनः निर्माणमा नेपाल इञ्जिनियर्स एसोसिएसनले निःशुल्क प्राविधिक सहयोग गर्ने


काठमाडौं :  इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनः निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ।

एसोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेन–जी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्याङ्कन र पुनः निर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिए।

‘ १९९० र २०७२ मा गएको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनालाई नेपाली प्राविधिक जनशक्तिको परिश्रम, मेहनत, विज्ञता र दक्षताबाट पुनःनिर्माण गर्न ठूलो योगदान रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिन चाहेको छ’, विज्ञप्तिमा उल्लेख छ।

एसोसिएसनले विद्यमान जटिल र कठिन परिस्थितिमा सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र नेपाल बार एसोसिएशनको भवनको आज प्रारम्भिक निरीक्षण गरी मूल्याङ्कन सुरु गरेको एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए।

उक्त अभियानमा क्षतिग्रस्त भौतिक संरचनाको तत्काल अवलोकन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता जाँच वैकल्पिक व्यवस्थापन तथा पुनः निर्माणको सम्भाव्यता अध्ययन एवं मूल्याङ्कन हुने अध्यक्ष बरालले बताए।

उनले उक्त अभियानमा जोडिन सम्पूर्ण इञ्जिनियरलाई आग्रहसमेत गरेका छन्।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode