कञ्चनपुरका धानुक मृत्यु प्रकरण : वडा सदस्यसहित चार पक्राउ

कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका २७ बर्षीय नरेश धानुक मृत्यु प्रकरणमा एक जनप्रतिनिधिसहित चारजना पक्राउ परेका छन्। शुक्रबार राति धानुकले आफ्नै घरको कोठामा फेसबुक लाइभ गर्दै जनप्रतिनिधिसहितको नाम लिएर झुण्डिएर प्रण त्यागेका थिए।
धानुकले बेदकोट नगरपालिका–४ का वडासदस्य अमर बोहरासहित भोजराज पन्त, खेम बोहरा, जनक धानुकसहितको नाम लिँदै उनीहरूले नाङ्गै बनाएर कुटपिट गरेको उल्लेख गरेको र झुण्डिन बाध्य भएको बताएका थिए। धानुकको फेसबुक लाइभकै आधारमा परिवारले प्रहरीमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेर दिएका थिए।
किटानी जाहेरीका आधारमा चारैजनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। प्रवक्ता सागर बोहराले किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको बताए। धानुकले फेसबुक लाइमै आएर आफ्नै कोठामा झुण्डिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
फेसबुक लाईभमै धानुकले आफूलाई कांग्रेस नेता एवं बेदकोट–४ का वडा सदस्य अमर बोहराले जेन–जी आन्दोलनमा गएको भन्दै कुटपिट गरेपछि मर्न बाध्य भएको र बोहरा समूहले जेन–जी आन्दोलनमा जान्छस, भन्दै टाउकोमा प्रहार र नाङ्गै बनाएर कुटपिट गरेपछि झुण्डिन बाध्य भएको बताएका थिए।
उनले आफूलाई कसैले पनि साथ नदिएको पनि बताएका छन्। उनले अन्तिममा गुडबाई, लाष्ट सर्ट भन्दै प्रण त्यागेका थिए। शनिबार धानुकको अन्त्येष्टी गरिएको छ। मृतक धानुककी दिदी हिरा रावल (धानुक)ले भाईलाई वडासदस्य अमर बोहरासहितले मदिरा सेवन गराएर जेन–जी आन्दोलन जान्छस, भन्दै कुटपिट गरेको बताइन्।
‘मेरो भाईका दुई नाबालक छोराछोरी छन्, श्रीमती पनि छ,’ उनले भने, ‘जनप्रतिनिधि जस्तो जिम्मेबार व्यक्तिबाट यस्तो अन्याय भयो।’ उनले मृतक परिवारलाई न्याय दिनुपर्ने बताइन।
धानुकको मृत्युपछि घरपरिवार र आफन्त शोकाकुल छन्।
बेदकोट नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्र बोहराले मृतक धानुक र वडासदस्य अमर बोहरासहितका स्थानीयबिच जेन–जी आन्दोलनमा विध्वङ्स गर्न नहुने बारे समान्य कुराकानी र विवाद भएको बताए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया