Hikmat Acharya
  • २८ भदौ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

अध्यक्ष ज्यू एड्भान्स कति दिउँ ?


अछाम । २०७९ सालमा तपाई बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए पश्चात  बार्षिक निति तथा बजेटमा अनिवार्य रुपमा रातो किताबमा समावेश भएको योजना मध्ये एक हो- पालिका अध्यक्ष स्वरोजगार कार्यक्रम । यो कार्यक्रममा तपाईँको हालसम्मको कार्यकालमा के कति बजेट खर्च भयो भन्ने विषयमा मैले भन्दा तपाईँ स्वयम् त्यसको हिसाब किताब बारे बढी जानकार हुनुहुन्छ । तर यो नबिर्सनुहोस् कि- क्याल्कुलेटर तपाईँसंग मात्रै छैन । यो डिजिटल युग हो , हिसाब किताबको क्याल्कुलेटर हरेक सचेत जनताको हात हातमा छ ।

तपाईँको कार्यकालको पहिलो बर्ष देखि हालसम्मको रातो किताबमा,  यो कार्यक्रमका लागि के कति बजेट बिनियोजित भयो र कति खर्च भयो भन्ने बिषयमा तपाईँ भन्दा मैले तथ्याङ्क प्रस्तुत गर्न खोज्नु मेरो मुर्खता हुन जान्छ , सायद । जोखिम हुन जान्छ सायद । म त्यो जोखिम उठाउन चाहन्न ।

रातो किताबमा समावेश अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागि के कति जनाले आवेदन दिएका थिए ? कति छनौटमा परे ? कति परेनन् ? अनि कतिले यो कार्यक्रम अन्तर्गत भुुक्तानी पाए ? भन्नेमा तपाईँ नै बढी जानकार भए,  मैले किन जान्ने पल्टिनु होइन र ? यो समय जान्ने पल्टिनेको हैन ।

यो लेख अन्तिमसम्म पढ्दै जानुभन्दा पहिले एउटा प्रण गर्नुस् है अध्यक्ष ज्यू । यो कार्यक्रम अन्तर्गत तपाईँले अध्यक्ष भए देखि हालसम्मको अवधिमा यो कार्यक्रमका नाममा कति भुक्तानी दिनुभएको छ ? यही कार्यक्रमका लागि बर्षेनी कति जनाले आवेदन दिए ? कति जना छनौट भए ? कति जनाले पुरापुर भुक्तानी लिए ? मनमनै आफै हिसाब गर्नोस्।

छनौटमा परेका अनुदानका नाममा भुक्तानी पाएका जो जो छन् उनीहरुको राजनितिक व्याकग्राउण्ड ,सामाजिक व्याकग्राउण्ड, आर्थिक र दलगत पृष्ठभूमि के थियो ? के छ ? उनीहरु वास्तविक बेरोजगार भएर यो कार्यक्रममा  स्वरोजगारीका लागी हाम फालेकाहरु थिए कि ? तपाईँ जोडिएको दलसंग जोडिएका, तपाईँलाई चुनावमा सहयोग गरेका , तपाईंको झोलेवादको झोलको स्वाद चाखेका , तपाईँको राजनितिक दलको झण्डा ओढेका कारण तपाईसंग अधिकार जमाएरै , लाभ लिनकै लागि  ,कृषकको नाममा व्यवसायीको नक्कली रूपमा , नक्कली कागजात धारण गरेकाहरु थिए ? प्रष्ट जवाफ दिनोस् । सिधा प्रश्नको सिधा उत्तर दिनोस् ।

अनि यो कार्यक्रमका लागि आवेदन दिएका तर छनौटमा नपरेका अनुदान नपाएकाहरु वास्तविक रुपमा कृषक ,पशुपालक,व्यवसायी नभएका कारण छनौटमा नपरेकाहरु थिए ? कि तपाईँ संगको राजनितिक आस्था र आर्थिक लेनदेनको खेलेमेलो मिलाउन नसकेकाहरु थिए ? के र कस्ता थिए ? प्रश्न त जरूर उठ्छ।  प्रश्नबाट भाग्न पाइँदैन। जनतालाई जवाफ दिनैपर्छ ।

अनुदानका नाममा लाखौँ रकम लिएका र तपाईँले दिएकाहरुले वास्तवमा अहिले चाँही के गर्दैछन् अध्यक्ष ज्यू ? उनीहरुले जुन नाममा अनुदान लिएका थिए त्यही व्यवसायमा अडिएर गाउँमै बसेका छन् कि अनुदानको रकम डकारेर कतै अन्तै पलायन भैसके ?  कुखुरा पाल्नु भनेर लिएको पैसाले बनाएको अनुदानको खोरमा बिराला पालेका छन् ? व्यवसायका लागी भनेर लिएको अनुदानले बनाएको कोठामा गाईगोरूको रजाई भएको त छैन ?

तपाईँले अध्यक्ष युवा स्वरोजगारका नाममा लाखौँ रकमको बिटो बुझाएकाहरुले गाउँपालिकामा के कति जनालाई स्वरोजगार बनाए ? कति जनालाई स्वरोजगार बनाएर कति जनाको चुल्हो बल्ने बनाएका छन् ? कि उनीहरु स्वयम् अनुदानको रकम डकारेर आफै अन्तै पलायन भईसके ? कहिल्यै फ्लोअप गर्नुभाछ ? कि पश्चिम महेन्द्रनगर जानुपर्ने तर बसको टिकट पूर्वको काँकडभिट्टाको काटियो ? यो पनि बान्नीगढीको ठण्डो पानी खाएर मनमनै मनन गर्नोस्।

सुशासन र समृद्धिको गफ छाँट्ने , पारदर्शीताको वकालत गर्ने, गफले आकाश छुने यथार्थमा घरको धुरी छुन नसक्ने , तपाईँले अध्यक्ष युवा स्वरोजगार कार्यक्रम निश्वार्थ रुपमा बितरण गर्नु भएको थियो भन्नेबारे शंका गर्दा , प्रश्न गर्दा , सोध्दा , जानकारी माग्न खोज्दा , आफ्ना देवी देवताले देख्ने गरी उनीहरुको नाश गर्ने धम्की दिइ हाल्नुहुन्छ फेरि ।

ठिकै छ तपाईँलाई , देवी देवता रिसाउने र मेरो नास भईहाल्ने भए म यो शंका पनि गरि हाल्दैन , तर कुखुरा पालनका नाममा  तपाईँले लाखौँ अनुदान दिएका कृषकहरुको खोरमा हुर्किएका लोकल कुखुराको अवस्था चाँही के छ हँ ? जान्न मन लाग्यो ।

तपाईँले लोकल कुखुरा पालन व्यवसायका नाममा जसलाई अनुदान दिनु भयो , ती अनुदान पाएका कृषकबाट कमिसन खानु भयो भनेर आरोप लगाउँदिन म, तर तपाईँले अनुदान दिएका तिनै कृषकको खोरमा हाम्रै हावापानीमा हुर्किएका लोकल कुखुरा त अब १, २ किलाका भइसके होलान् ? हैन र ? कि कुखुरा मोटाएर खसी भैहाले ? मौसम परिवर्तन हुँदै गर्दा मेरी वयबृद्ध बज्यैलाई रुघास्वार्दीले छोएको छ । मेरी बज्यैलाई लागेको जिद्धी रुघाखोकीलाई लोकल कुखुराको तातो झोल खुवाएर भगाउन मन छ । भन्नुस् अध्यक्ष ज्यू तपाईँले अनुदान दिएका कृषकले हुर्काएको लोकल कुखुराको भालेका लागी एडभान्स कति दिउँ ? कहाँ बुझाउँ ? कति रूप्पे पर्छ ? किलोको कति छ ? माग पूर्ति गर्न सकिएको छ कि छैन ? बजारभाउ कस्तो छ?

बजारमा पाइने सस्तामस्ता चाउचाउ बिस्कुट चाउमिन लगायतका जंकफुड खादा खुवाउँदा मेरो छोरालाई क्याल्सिएमको कमी भएको छ भनेर अस्ति भर्खरै डाक्टरले स्वास्थ्य जाँचको क्रममा बताए । डाक्टरका अनुसार क्याल्सियमको कमी हुन नदिन गाई भैँसीको ताजा दूध खुवाउँदा राम्रो हुन्छ रे , जयगढका डेरीमा दिउँसो ढिला पुग्दामात्रै पनि दूधको चिया खान समेत पाईदैन । तपाईँले त गाउँपालिका अध्यक्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत भैँसी पालक कृषकलाई लाखौँ अनुदान दिनुभएको छ नि हैन ? मलाई दैनिक रुपमा १ लिटर दूध नभई भएको छैन  । भन्नुस् न , अध्यक्ष ज्यू ,  दैनिक १ लिटर दूधका लागी १ महिनाको एडभान्स कति दिउँ ? कहाँ बुझाउ ? कुन कृषकको घरमा बुझाउ ?

१० बर्षे जनयुद्ध अगाडी म गाउँ जाँदा ठुला बुवा,गाउँका बाजे , काकाहरुले जंगली कालिजको शिकार गर्थे । त्यसताका बच्चा अवस्थाको म घरमै रहँदा कहिले कसो जंगली कालिचको मासु र झोल महिना दिन बिराएर चाख्न पाइन्थ्यो । मलाई कालिजको झोलको स्वाद मेरो जिब्रोले अहिले पनि याद गरिरहन्छ । अहिले त कालिज पालन व्यवसाय सरकारले नै कानुनी दायरामा ल्याईसकेको छ नि है । तपाईँले पनि यही निति अनुसार बान्नीगढी जयगढ गाउँपालिकामा कालिज पालन व्यवसायका लागि भनेर ४ लाख बढी अनुदान दिनु भएको थियो नि । तपाईँले अनुदान दिएका कालिज पालक कृषकले पालेका कालिज पनि अब त ठुला भईसके होलान् । अण्डा दिने भैसके होलान् । अण्डा सुनकै दिन्छन् ? सायद अब त खोरमा नयाँ चल्ला पनि हुर्किसकेका होलान् ।

ती पुराना जंगली कालिजको स्वाद चाखेको मेरो जिब्रोले कालिजको स्वाद अझै बिर्सिसकेको छैन । मेरो जिब्रोलाई कालिजको स्वाद चखाउन मन छ , के पिर भयो र हाम्रै पालिकामा कालिज पालन व्यवसायका लागि अनुदान जो तपाईले बितरण गर्नु भएको छ । हाम्रै पालिकामा हुर्किएका कालिज नखाई भएन । अध्यक्ष ज्यू , भन्नुस् न , कालिजका लागि एडभान्स कति दिउँँ ? कुन किसानको दैलोमा जाँदा कालिज खान पाइन्छ ?

भन्नोस् न ,अध्यक्ष ज्यू । अध्यक्ष युवास्वरोजगारका नाममा अनुदान पाएकाहरुले उत्पादन गरेका चिजबस्तु खरिद गर्न म एडभान्स बिना काम नगर्ने तपाईँलाई म एडभान्स कति दिउँ ?

 


क्याटेगोरी : पश्चिम खोज, पालिका, विचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode