डडेल्धुरा जिप दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुल्यो

डडेल्धुरा– डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
जिल्लाको नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए ।
मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको हो । सो दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला बिक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरु मध्ये बिक र रामबहादुर साउदको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया